मुख्य समाचार

जेन जी आन्दोलनको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाईयो

काठमाडौं

गत भदौ २३ र २४ गते भएको आन्दोलनबारे छानविन गर्न गठित आयोगले प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको टोलीले आज आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हो । ९ सय बढी पृष्ठको प्रतिवेदनले २३ र २४ गते भएका घटना र त्यसमा संलग्न रहेका व्यक्तिहरुको मिहिन रुपमा अध्ययन गरि कारबाहीका लागि समेत सिफारिस गरेको आयोगका पदाधिकारीहरुले बताएका छन् । सरकारको दिएको जिम्मेवारी अनुसार आफूहरुले घटनाको छानविन गरेर कारवाहीको सिफारिस गरेको आयोगका अध्यक्ष कार्कीले बताउनुभयो ।

३ महिना भित्र अध्ययन पूरा गरी प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश पाएको आयोगले विभिन्न चरणमा गरि ३ पटक म्याद थप गर्दै जिम्मेवारी पुरा गरेको हो । आयोगका अध्यक्ष कार्कीले प्रतिवेदन कार्यान्वयन नभए फेरि आन्दोलन हुन सक्ने बताउनुभयो ।

यसैबीच, आयोगको प्रतिवेदन बुझेपछि प्रधानमन्त्री कार्कीले प्रतिवेदनको निचोड मात्र भए पनि सार्वजनिक गर्ने बताउनुभएको छ । प्रतिवेदन अध्ययन गरेर मन्त्रीपरिषद्मा पेश गर्ने प्रधानमन्त्रीको भनाइ रहेको उहाँको सचिवालयले जनाएको छ ।