मुख्य समाचार

भोलि र पर्सि प्रतिकूल मौसमको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न स्थानमा प्रतिकूल मौसमको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभागबाट जारी पूर्वानुमानअनुसार भोलि र पर्सि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

 यस्तै दाङ र नेपालगञ्ज आसपासका लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्ला र पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणको भनाइ छ । 

हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । मौसममा हुने परिवर्तनले हुन सक्ने जोखमबाट जोगिन अनावश्यक यात्रा नगर्न, हावाहुरी चलिरहेका बेला घरभित्रै सुरक्षित रहन भनिएको छ । 

हावाहुरीका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तार नजिक नजान, बिजुलीका तार लत्रिएको देखिएमा नछुन र त्यस्तो अवस्थामा विद्युत् उपकरण प्रयोग नगर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।