मुख्य समाचार

कांग्रेस केन्द्रिय कार्यसमिति : गगन थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव

काठमाडौं

प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि नैतिक जिम्मेवारी लिदै नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको राजिनामा अस्वीकार गर्ने प्रस्ताव केन्द्रिय कार्यसमितिमा पेश भएको छ । 

थापाको अनुपस्थितिमा बसेको कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सो प्रस्ताव राख्नुभएको हो । सभापति थापाको राजिनामा अस्वीकार गर्ने प्रस्तावमाथि छलफल शुरु भएको नेपाली कांग्रेसले जनाएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले सभापतिको राजिनामासम्बन्धी प्रस्ताव छलफल प्रारम्भ भएको बताउनुभयो ।

प्रतिनिधिसभा निर्वाचनको केही साताअघि भएको विशेष महाधिवेशनबाट सभापति बनेका थापाले दुई दिनअघि उपसभापति शर्मालाई राजिनामा पेश गर्नुभएको थियो । पूर्व सभापति शेरवहादुर देउवा पक्षका नेताले राजिनामाका लागि दवाव दिइरहेका बेला थापाले पद छाड्ने निर्णय गर्नुभएको हो ।

 यसैबीच, नेपाली कंग्रेसले निर्वाचनको नतिजाबारे समिक्षा शुरु गरेको छ । प्रवक्ता चालिसेले विगतमा गरिएको चुनाव गठबन्धन र सत्ता समीकरणप्रति आम नागरिकको असन्तुष्टि निर्वाचनमा व्यक्त भएको आफूहरुको प्रारम्भिक बुझाइ रहेको बताउनुभयो ।

निर्वाचनपछि पहिलो पटक बसेको कांग्रेसको केन्द्रिय कार्यसमितिको अर्को बैठक पर्सी आइतवारका लागि बोलाइएको छ ।