मुख्य समाचार

वर्षा, हावाहुरी र हिमपातले जनजीवन प्रभावित

काठमाडौं

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभावले मुलुकका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमका केही जिल्लामा वर्षा भएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ ।

कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । भोलिदेखि भने मौसममा सुधार आउने मौसमविद्हरुले जनाएका छन् ।

आज पनि केही स्थानमा चट्याङसहितको वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन महाशाखाले सबैमा आग्रह गरेको छ । पश्चिमी वायुको पानी पार्ने प्रणाली अझै केही समय सक्रिय रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ । भोलि सम्म देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र ठूलो हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनेको छ ।