मुख्य समाचार

राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने

काठमाडौं

सरकारले राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने व्यवस्था गरेको छ । केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीलाई एकीकृत गरी सेवा प्रवाह शुरु गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले त्यसबारे जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्रका लागि छुट्टै फारम भर्न नपर्ने गरी सहज सेवा दिन लागिएको उहाँको भनाइ छ ।

नयाँ व्यवस्थाले सार्वजनिक सेवामा नागरिकले भोगिरहेका समस्या हट्ने मन्त्री अर्यालले बताउनुभयो ।

नागरिकताको विवरणबाटै राष्ट्रिय परिचयपत्र बनाउन सक्ने गरी व्यवस्था गरिएको हो । यसबाट दैनिक ६ देखि ८ हजार सेवाग्राही लाभान्वित हुने गृहमन्त्री अर्यालले जानकारी दिनुभयो ।

सरकारले ल्याएको नयाँ व्यवस्थापछि सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्न नपर्ने भएको हो ।