रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दाको सुनुवाई लम्बियो
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटको सुनुवाइ लम्बिँदै गएको छ । यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्धय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले तीन दिन बहस सुनेर फाइल मगाउने आदेश भएको थियो ।
आज भने न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा भएको सुनुवाइका क्रममाबहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । बहसमा रिट निवेदनका तर्फबाट २ जनाले मात्र समय पाएपछि हेर्दाहेर्दैमा राखिएको हो। सो मुद्दा भोली पुनः सुनुवाइ हुने भएको छ ।
सर्वोच्चको मागअनुरुप लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधनसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयलेपेस गरेसँगै आज पुनः सुनुवाइ सुरु गरिएको थियो । महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अभियन्ता युवराज पौडेलले रिट दायर गर्नुभएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय गर्नु भएको थियो ।