मुख्य समाचार

सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा छलफल हुँदै

काठमाडौं ।


पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि पेट्रोलियम पदार्थको खपत घटाउन सरकारले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा छलफल अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने गरी छलफल अघि सारेको हो । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने विषयमा छलफल भए पनि कहिलेदेखि लागु गर्ने भनेर निर्णय भइसकेको छैन । इन्धनको खपत कम गर्न बिजुलीको प्रयोग बढाउन र विकल्पमा इन्डक्सन चुलो र राइस कुकर प्रयोग गर्न उहाँले जोड दिनुभएको छ । 

यता यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात व्यवसायीसँग छलफल गर्न लागेको जनाएको छ । विभागले आज निजी व्यवसायीलाई बोलाएर सवारीसाधनमा जोरबिजोर सञ्चालन गर्नेलगायतका विषयमा छलफल गर्न लागेको हो । पश्चिम एसियामा युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल १०२ अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । 

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले गत साता मूल्य बर्णपछि नेपाल आयल निगमले पेट्रोलमा १५ र डिजेल÷मट्टितेलमा १० रुपियाँ मूल्य बढाएको थियो । यसैबिच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढे पनि आयातसमेत बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को आठ महिनामा पेट्रोलियम पदार्थको आयात बढेको छ । चालु आवको माघको तुलनामा फागुन महिनामा डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको आयात बढेको हो ।