कानूनको गलत दफा प्रयोग गरेर कारवाही सिफारिस गरिएको ओलीको आरोप
काठमाडौंएमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन निराधार भएकाले स्वीकार्य नहुने बताउनुभएको छ । आफूमाथिको कारवाही सिफारिस बदनियतपूर्वक गरिएको ओलीको भनाइ छ । प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक पार्टीको कार्यक्रममा सहभागी भएका ओलीले गलत दफा प्रयोग गरेर कारवाहीको सिफारिस गरिएको टिप्पणी गर्नुभयो ।
एमालेका नवनिर्वाचित सांसदसँगको छलफलका क्रममा ओलीले पूर्व न्यायाधिश गौरीवहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमाथि प्रश्न उठाउनुभएको हो । आफूलाई बदनाम गराउन कारवाहीको सिफारिस भएको उहाँको भनाइ थियो ।
अर्को प्रसंगमा एमाले अध्यक्ष ओलीले निर्वाचनबाट तेस्रो दल बनेपनि निराशा नहुन आग्रह गर्नुभएको छ । निर्वाचनमा पराजय भोगेपनि पार्टी नसकिएको बताउनुभयो ।
हालै सम्पन्न प्रतिनिधिसभामा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जितेको छ । चुनाव लडेका एमाले अध्यक्ष ओलीसहित पदाधिकारी तहका सबै नेता पराजित भएका थिए ।