कारवाही आवेगका आधारमा नभइ कानूनी प्रक्रिया अनुसार हुनुपर्ने कांग्रेसको ठहर
काठमाडौंनेपाली कांग्रेसले भदौ २३ र २४ गतेका घटनाका दोषीमाथि गरिने कारबाही उत्तेजना र आवेगमा आएर नभई कानुनी प्रक्रिया बमोजिम हुनुपर्नेमा जोड दिएको छ । पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपि ओलीलाई पक्राउ गरिएको घटनाबारे आफ्नो आधिकारीक धारण राख्दै कांग्रेसले सो प्रष्टिकरण दिएको हो । सरकारको पछिल्लो निर्णय र कारवाहीको शैली पूर्वाग्रही भएको प्रवक्ता देवराज चालिसेले बताउनुभयो ।
कांग्रेसले भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहरहित छानविनको माग प्रारम्भदेखि नै गर्दै आएको जनाएको छ । गोरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ का घटनालाई विस्तृत रुपमा हेरेको तर २४ का घटनालाई नजरअन्दाज गरेको देखिएको भन्दै कांग्रेसले यसलाई विधिको शासनविपरित र त्रुटिपूर्ण भनेको छ ।
प्रतिवेदन एकपक्षीय र अपूर्ण रहेको तथा सर्वोच्च अदालतले कार्कीको निष्पक्षतामा उठाएको प्रश्नलाई समेत यसले बल पु¥याउने कांग्रेसको ठहर छ । यसैबीच, पक्राउप्रति आपत्ति जनाउँदै कांग्रेसको इतर समूहले संवैधानिक कानूनी र राजनैतिक रुपमा प्रतिवाद गर्ने जनाएको छ ।