मुख्य समाचार

ओली र लेखकको म्याद थप

काठमाडौं

काठमाडौं जिल्ला अदालतले पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ओली र लेखक दुवैलाई अनुसन्धान अघि बढाउन ५ दिन म्याद थपको अनुमति दिएको हो । सरकारी वकिलको कार्यालयले १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो ।

जेन जी आन्दोलनबारे छानविन गर्न गठित आयोगको प्रतिवेदन कार्यन्वयनका लागि भन्दै प्रहरीले एमाले अध्यक्ष ओली र कंग्रेस नेता लेखकलाई हिजो पक्राउ गरेको थियो । पूर्व मन्त्री लेखक आज अदालतमा उपस्थित हुनुभएको थियो । ओलीलाई भने स्वास्थ्यका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल रुपमा उपस्थित गराइएको थियो ।

यसैबीच, ओली र लेखकलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै तत्काल रिहाई गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन पेस भएको छ । ओली र लेखकका परिवारका सदस्यले सो निवेदन दिएका थिए । रिटमाथिको सुनुवाइ भोलि हुने सर्वोच्च प्रशासनले जनाएको छ । यसैबीच, काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री ओलीको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । ओलीलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।