ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चद्वारा पक्राउ गर्नुको कारण माग
काठमाडौंजेन जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको कार्यान्वयनका लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई तत्काल रिहा गर्नका लागि आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई रिहा गर्न माग गर्दै परेको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश दिएको छ ।
अदालतको आदेशपछि ओली र लेखक तत्कालै रिहा हुने सम्भावना अन्त्य भएको छ । अदालतले दुवै हकमा पक्राउ गर्नुको कारणबारे ३ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । बाटोको म्याद बाहेक सूचना पाएका मितिले महान्यायधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिनुभयो ।
सो रिटमाथिको सुनुवाई अब संयुक्त इजलासमा हुनेछ । यसअघि काठमाडौं जिल्ला अदालतले ओली र लेखकलाई ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति दिएको थियो । ओली अस्वस्थताका कारण शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत हुनुहुन्छ । लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ । यसैबीच, एमालेका नेता कार्यकर्ताले ओलीको रिहाइ माग गर्दै आज पनि काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेका थिए ।