संविधान संसोधनको बाचा पत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय
काठमाडौंसंघीय संसदको दुवै सदनको नयाँ अधिवेशन यही चैत १९ गते शुरु हुने भएको छ । हालै सम्पन्न निर्वाचनपछि गठित सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आव्हानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्रीपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको आगामी अधिवेशनमा सभामुख र उपसभामुख चयन हुनेछन् । प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनुपर्ने तथा सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्ने प्रावधान छ ।
तर प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।
यसैबीच सरकारले संविधान संसोधनका लागि बहस पत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको हो । तत्कालिन सरकारको गठबन्धनमा रहेका कंग्रेस र एमालेले संविधान संसोधन गर्ने सहमति गरेपनि काम अघि बढ्न सकेको थिएन ।