एमाले संसदीय दलको नेतामा थापा
काठमाडौंएमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन हुनु भएको छ । दलको नेतामा थापाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिनुभयो ।
एमाले संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले दाबी गर्नुभएको थियो ।संघीय संसदीय दलको विधान २०७७ दफा ६ अनुसार हुने संसदीय दलको नेता चयन गर्ने कार्यक्रम अनुसार एकमात्र उम्मेदवार प्रतिनिधिसभाका सदस्य माननीय रामबहादुर थापाको मात्र उम्मेदवारी पर्न आएको हुनाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको एमालेद्वारा जारी पत्रमा उल्लेख छ ।
एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सीट सहित २५ जना सांसद छन् । यसैबीच, एमाले उपमहासचिव योगेश भट्टराईले थापा संसदीय दलको नेता चयन भएकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्दै भट्टराइले नेता छनौत तरिका र शैलीले सिंगो पार्टीपक्तिलाई चिन्तीत बनाएको उल्लेख गर्नुभएको छ । केहि दिनको समय लिएर पार्टी नेतृत्व र सांसदहरुबीच छलफलका माध्यमबाट समझदारीमा पुग्नुको सट्टा दबाबमा राखेर चयन गरिएको उहाँको आरोप छ ।