सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल र्निविरोध निर्वाचित
काठमाडौंप्रतिनिधिसभाको सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल र्निविरोध निर्वाचित हुनुभएको छ । एकल उम्मेदवारी परेपछि अर्याल सभामुखमा निर्वाचित भएपनि औपचारिक घोषणा हुन बाँकी छ । अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा रास्वपा नेताहरु समर्थक र प्रस्तावक बस्नुभएको छ । त्यसबारे जानकारी दिदै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो ।
सभामुखका लागि बिहान ११ देखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । सो अवधिमा अर्यालको मात्र उम्मेदवारी दर्ता भएको हो । उहाँ निर्वाचित भएको घोषणा पर्सी आइतवार बस्ने प्रतिनिधिसभाको बैठकबाट हुने प्रवक्ता गिरीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य निर्वाचित हुनुपर्ने छ । सभामुख र उपसभामुख फरक राजनीतिक दलको समेत हुनुपर्छ । फरक लिङ्ग र राजनीतिक दलबाट सभामुख तथा उपसभामुख चयनको व्यवस्था संविधानले नै गरेको छ ।
त्यस्तै, एकभन्दा बढी दलको प्रतिनिधित्व नभएमा तथा प्रतिनिधित्व भएपनि उम्मेदवारी नदिए एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा नपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले रास्वपाले उपसभामुखबारे गर्ने निर्णयलाई महत्वपूर्ण रुपमा हेरिएको छ । सो पार्टीका सभापति रवि लामिछानेले उपसभामुखबारे छलफल हुन बाँकी रहेको बताउनुभयो ।
सभामुखका निर्वाचन प्रक्रिया सकिएपछि उपसभामुखको निर्वाचन भने केही दिनपछि गर्ने तयारी भएको बताइएको छ ।