मुख्य समाचार

संसदीय दलको नेता आगामी शुक्रवार चयन गर्ने कंग्रेसको तयारी

काठमाडौं

नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि संसदीय दलको नेता आगामी शुक्रवार चयन गर्ने भएको छ । नेताहरुबीच सर्वसम्मति नभएको अवस्थामा नेपाली कंग्रेसले निर्वाचन प्रकियाबाट दलको नेता चयन गर्न लागेको हो । पार्टीले नेता चयनका लागि सहमहामन्त्री प्रकाश रसाइलीको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

रसाइलीले वैशाख २ गते निर्वाचन तालिका सार्वजनिक हुने र ४ गते नेता चयन हुने जानकारी दिनुभयो । संसदीय दलका नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्का लगायत नेताले दाबी गरेका छन् । पुराना नेताहरुबीच मात्रै प्रतिस्पर्धा भइरहेका बेला युवा सांसद योगेश गौचन थकाली, निश्कल राई र बासना थापामध्ये कुनै एकलाई अघि सार्नुपर्ने माग समेत भइरहेको छ । 

पार्टीको आधिकारिकता विवादसँगै संसदीय दलको नेता कसलाई बनाउने भन्ने बिषयमा कंग्रेसभित्र विवाद भएको हो । उपसभापति विश्वप्रकाश शर्माले भने अर्को पक्षलाई समेत विश्वासमा लिने गरी आङदेम्बेलाई दलको नेता बनाउने पक्षमा रहेको बताउनुभएको छ ।