मुख्य समाचार

प्रधानमन्त्री र सबै विश्वविद्यालयका उपकुलपतिबीच छलफल हुँदै

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री वालेन्द्र शाहले आज त्रिविसहित सबै विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्दै हुुनुहुन्छ । बैठक दिउंसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र ७ वटा प्रतिष्ठानका उपकुलपतिलाई यस छलफलमा बोलाइएको छ । 

यस्तै, बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुको समसामयिक समस्या र समाधानका उपायहरुबारे विमर्श हुने जनाइएको छ । तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ । बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहभागी हुनुहुनेछ । 

त्यसैगरी पूर्वाञ्चल विश्वविद्याल, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित हुने जनाइएको छ ।

साथै, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी हुनेछन् ।

यस्तै, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकलपतिहरुसंग पनि प्रधानमन्त्री शाहले संवाद गर्ने जनाइएको छ । 

यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसंग पनि प्रधानमन्त्री शाहले छलफल गर्ने जनाइएको छ । 

यसैविच, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसंग पनि प्रधानमन्त्री शाहले छलफल गर्दैहुनुहुन्छ ।

त्यसभन्दा अघि बिहान ११ बजे चिकित्सा शिक्षा आयोगका पदाधिकारी, शिक्षामन्त्री र चिकित्सा शिक्षा पढाइ हुने विश्वविद्यालयका पदाधिकारी बैठक बस्नेछन् । त्यसपछि उपकुलपतिहरूसँग प्रधानमन्त्री शाहको छलफल सुरु हुनेछ । 

सुरुमा सामूहिक छलफल गरेपछि आवश्यकता परेमा छुट्टाछुट्टै बैठक बस्नेछन् ।