गृहमन्त्रीको संलग्नता देखिएका बिषयको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न एमालेको माग
काठमाडौंविवादास्पद व्यवसायीसँग साझेदारी र शेयरमा लगानीको बिषयलाई लिएर विवादमा परेका गृहमन्त्री सुधन गुरुङमाथि राजिनामाको दबाव बढेको छ । विपक्षी दलहरुले गृहमन्त्री गुरुङको राजिनामा माग गरेका छन् । विवादमा परेपछि गृहमन्त्री गुरुङले रास्वपाका सभापति रवि लामिछाने लगायत नेताहरुसँग परामर्श गरेपनि राजिनामा दिने संकेत गर्नुभएको छैन । शेयरमा गरिएको लगानीको स्रोत लुकाएको भन्दै उहाँको व्यापक आलोचना भइरहेको छ ।
यसैबीच, प्रतिपक्षी दल एमालेले गृहमन्त्री सुधन गुरुङको राजिनामा मागेको छ । मन्त्री गुरुङ जोडिएका विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन समेत एमालेले माग गरेको छ । एमालेका प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाउनुपर्ने समेत बताउनुभएको छ ।
एमालेको विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गरियोस् । एमालेले सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भए लगत्तै गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएको प्रकरणले सम्भावित अनियमितताका रहस्य समेत क्रमशः उजागर हुन सक्ने दावी समेत गरेको छ ।