दक्षिण पूर्वी एसियाबाट ६ सय १२ नेपालीको उद्धार
काठमाडौंपरराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार हालसम्म थाइल्यान्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६ सय १२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ ।
मन्त्रालयका अनुसार उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४ सय ८७ जना, म्यानमारबाट १ सय ११ जना, लाओसबाट ८ जना र थाइल्यान्डबाट ६ जना छन् । उद्धार कार्यका लागि थाइल्यान्ड र म्यानमारस्थित नेपाली राजदूतावासहरूले स्थानीय निकायहरूसँग सक्रिय समन्वय र सहयोग गरिरहेका छन् ।
हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको संख्या २१ हजार पुगेको र त्यसमध्ये धेरैजना यस्ता शंकास्पद ठगी केन्द्रहरूमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको छ ।