मुख्य समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज काठमाडौं आउँदै

काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने नेपाल भ्रमणका लागि आज साँझ काठमाडौँ आउँदै हुनुहुन्छ । भारतका लागि अमेरिकी राजदूत समेत रहनुभएको गोर नेपाल आएर प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने योजनामा रहेको बताइएको छ । यद्यपि, प्रधानमन्त्री शाहले भेट्ने समय तालिका निश्चित नभएको उहाँको सचिवालयले जनाएको छ ।

 विशेष दूत गोरले भेट्न खोजेपनि प्रधानमन्त्री शाहले भेट्ने समय नदिएको बताइएको छ । गोरले यसअघि बंगलादेश, भुटान, श्रीलंकालगायत देशका भ्रमण गरेर त्यहाँका राष्ट्र प्रमुखसँग भेट्नुभएको थियो । प्रधानमन्त्री शाहसँग भेट सुनिश्चित नभए पनि विशेष दूत गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट्ने निश्चित भएको छ । 

विगतमा वरिष्ठ र कनिष्ठ विदेशी कूटनीतिज्ञलाई प्रधानमन्त्रीलगायत राजनीतिक शीर्ष नेताहरुले सजिलै भेट दिने गरेपनि रास्वपा नेतृत्वको सरकार आएपछि परिस्थिति बदलिएको टिप्पणी भएका छन् । यस भ्रमण पनि अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर जस्तै लगानी र आर्थिक सहकार्यमा केन्द्रित हुने बताइएको छ । कपुर ११ दिनअघि नेपाल भ्रमणमा आउनुभएको थियो ।