मुख्य समाचार

नयाँ कार्यसमितिले गराउने महाधिवेशन स्वीकार्य नहुने कांग्रेस इतर पक्षको अडान

- नविन कोइराला काठमाडौं

पार्टीको आधिकाारिताबारे सर्वोच्च अदालतको निर्णय स्वीकार गरेको नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५ औं महाधिवेशनबारे कडा सर्तसहितको अडान सार्वजनिक गरेको छ । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गराउने भनिएको महाधिवेशनप्रति इतर पक्षले असन्तुष्टी जनाएपछि कांग्रेसभित्रको विवाद अझै बढ्ने विश्लेषण भएका छन् । अर्कोतर्फ विशेष महाधिवेशनका कारण प्रतिनिधिसभा निर्वाचनमा हार ब्यहोरेको सो पक्षको निष्कर्षले कांग्रेसको आन्तरिक बिषय सहज ढंगले अघि नबढ्ने संकेत देखाएको छ ।

विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिप्रति असन्तुष्ट शेरबाहादुर देउवा पक्षको भेलाले गरेको निर्णयलाई हेर्दा कांग्रेसभित्रको विवाद अझै लम्बिने संकेत देखिएको छ । देउवा पक्षले असोजका लागि तय भएको पार्टीको १५ औं महाधिवेशनमा सम्पूर्ण पार्टी पंक्तिको सम्मानजनक सहभागिता हुन नसक्ने अडान समेत लिएको छ ।

निर्वाचन अघि भएको पार्टीको विशेष महाधिवेशनलाई इतर पक्षले एकपक्षीय भएको आरोप लगाएको छ । पूर्व कार्यवाहक सभापति पूर्णवहादुर खड्काले जारि गरेको विज्ञप्तिको आठ नम्बर बूँदामा भनिएको छ, “एक पक्षीय महाधिवेशन प्रतिनिनिधिहरुको मात्र सहभागितामा भएको तथाकथित विशेष महाधिवेशनवाट चयन भएको नेतृत्वले अब हुने १५ औं महाधिवेशनमा सम्पूर्ण पार्टी पंक्तिको सम्मानजनक सहभागिता गराउने र उक्त महाधिवेशनवाट निष्पक्ष निर्वाचन हुने कुरा असम्भव भएकोले पार्टीको वृहत्तर एकताको महाधिवेशनका लागि सहर्मातमा साझा सरचनाहरूको आवश्यकता हुने ठहर गर्दै सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौं ।”

असन्तुष्ट देउवा पक्षको भेलाले पार्टीको आधिकारिकताबारे सर्वोच्च अदालतले वैशाख ४ गते गरेको निर्णय स्वीकार्य भएपनि सो कार्यसमितिले गराउने महाधिवेशनमा जान नसकिने धारणा सार्वजनिक गरेको हो । बुँदा नम्बर ९ मा पार्टी एकता र सुदृढ एवं सवल कांग्रेस निर्माणका लागि सिंगो कांग्रेसको सहभागिता हुने गरी १४ औं महाधिवेशनवाट संशोधन गरिएको विधानबमोजिम सबै तहमा पार्टी एकताको अभियान कार्यक्रम सञ्चालन गर्नुपर्ने असन्तुष्ट पक्षले माग गरेको छ ।


इतर पक्षले पार्टीको सदस्यता र नेताहरुमाथि गरिएको कारवाहीप्रति समेत चर्को असन्तुष्टी जनाएको छ । नेता खड्काले पार्टीका विभिन्न तहका नेतामाथि पूर्वाग्रह साँधेर अनुशासनको नाममा स्पष्टीकरण सोध्ने तथा कारबाहीको प्रक्रिया अपनाएको भन्दै आपत्ति जनाएका छन् । पार्टीमा निरंकुश प्रवृत्ति तत्काल रोक्न र आगामी दिनमा नदोहोर्यान पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ ।

पार्टीको विधान अनुसार पार्टी छोडेका, अनुशासनको कारबाहीमा परेका, मृत्यु भएका वा आफ्नैस्वेच्छाले सदस्यता त्याग गर्न चाहेका व्यक्तिहरुको सदस्यता सूचि अध्यावधिक गर्नु र कुनै विशेष कारणले नवीकरण गर्न छुटेका वा निर्वाचन पछिपनि पार्टीमा आउन चाहने व्यक्तिहरुलाई क्रियाशील सदस्यता प्रदान गर्नेु पर्ने कारणले सदस्यता नवीकरण र वितरण गर्नुलाई इतर समूहले स्वभाविक भनेको छ । १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम क्रियाशील सदस्यता नवीकरण तथा वितरण कार्य लगभग सम्पन्न भइसकेको अवस्थामा अध्यावधिकको नाममा पूर्वाग्रही ढंगले क्रियाशील सदस्यताका विषयमा गलत र बदनीयतपूर्ण कदम चालिएको भेलाको निष्कर्षमा उल्लेख छ ।

देउवा पक्षले आमनिर्वाचनको पूर्वसन्ध्यामा जबरजस्ती एक पक्षीय ढंगले पार्टीको विशेष महाधिवेशन गराउनु नै निर्वाचनमा शर्मनाक हारको प्रमुख कारण भएको आरोप लगाएको छ । पार्टीको आधिकारिकता विवाद अन्त्य भएपछि कंग्रेसमा एकता कायम हुने अपेक्षाबीच देउवा पक्षीय नेताहरुको भेला र सार्वजनिक वक्तव्यले विवाद अझै बढाउने स्पष्ट देखिएको छ । अर्कोतर्फ नेता डा. शेखर कोइराला पक्ष नेताहरुले बिहिवार छुट्टै भेला समेत गरेका छन् ।