आठौं संस्करणको ‘नेसनल म्युजिक अवार्ड’ असार २६ मा हुने
- काठमाडौंरेडियो कान्तिपुरले आयोजना गर्दै आएकोे ‘नेसनल म्युजिक अवार्ड’को आठौं संस्करण यही असार २६ गते ललितपुर हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रेडियो कान्तिपुरले सङ्गीत क्षेत्रको प्रर्वद्धन र स्रष्टालाई हौसला प्रदान गर्नका लागि यस वर्ष पनि अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएको छ ।
त्यस्तै गीत–सङ्गीत र कलाका माध्यमबाट लामो समय देखि सेवा पु¥याउँदै आएका व्यक्तिलाई १ लाख रुपैयाँ राशीको ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ । त्यस्तै स्रोताको छनोटका आधारमा ‘पिपुल्स च्वाइस अवार्ड’ प्रदान गरिनेछ । ‘एक्सट्रिम इनरजेटिक पर्फमर अफ द एयर’ अवार्ड समेत दिइनेछ ।
अवार्डबारे जानकारी दिँदै कान्तिपुर मिडिया गु्रुपका चिफ मार्केटिङ अफिसर सागर केसीले यस अवार्ड नेपाली संगीत उद्योगको साझा थलो भएको बताए । यसलाई समग्र नेपाली संगीतकै उत्थान गर्ने कार्यक्रमको रुपमा लिनुपर्ने उनको भनाइ छ ।
विक्रम सम्वत् २०८२ वैशाख १ देखि चैत मसान्तसम्म सार्वजनिक भएका नेपाली गीतमध्येबाट फरक–फरक विधाका उत्कृष्ट ५ वटालाई अवार्डका लागि मनोनयन गर्न तीन सदस्यीय जुरी गठन गरिएको थियो । त्यसमध्येबाट हरेक विधामा सर्वोकृष्ट घोषणा गरिनेछ ।
अवार्ड कार्यक्रममा मन्त्र ब्यान्ड, दीपक बज्राचार्य, उजन शाक्य, जोन एण्ड द लोकल्सको विशेष प्रस्तुति रहनेछ । त्यस्तै, समृद्धि राई, शिव परियार, ओएमजी स्पार्क, यमन श्रेष्ठ, सलिना विक तथा हास्य कलाकार प्रभात लामा र कर्मासिंह लामाको पनि प्रस्तुती रहनेछ । यसपटक कार्यक्रममा मुख्य प्रायोजकको रुपमा ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ रहेको छ । पत्रकार सम्मेलनमा कान्तिपुर मिडिया ग्रुपका चिफ मार्केटिङ अफिसर केसी र ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’का तर्फबाट प्रतिक्षा कर्माचार्यले प्रायोजनका लागि हस्ताक्षर गरेका हुन् ।
कार्यक्रम ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ होटलमा हुनेछ । यसपटकको अवार्ड कार्यक्रमका लागि टिकट विक्रि समेत खुल्ला भइसकेको र इसेवामार्फत टिकट खरिद गर्न सकिने आयोजक रेडियो कान्तिपुरले जनाएको छ ।