मुख्य समाचार

विश्वकपमा उलटफेरको आँधी, रोनाल्डोको बिदाइदेखि अर्जेन्टिना–इजिप्ट विवादसम्म

- नविन कोइराला काठमाडौं

अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। नकआउट चरणमा नयाँ शक्तिको उदय, अप्रत्याशित नतिजा र केही विवादास्पद निर्णयले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ। विश्व फुटबलका स्थापित र शक्तिशाली राष्ट्रलाई चुनौती दिँदै नयाँ टोलीले उत्कृष्ट प्रदर्शन गरेका छन्।

क्वार्टरफाइनल पुग्ने टोलीहरूको सूची हेर्दा यसपटक विश्व फुटबलको शक्ति सन्तुलन बदलिँदै गएको संकेत देखिन्छ। अन्तिम आठमा फ्रान्स, स्पेन, बेल्जियम, इंग्ल्यान्ड र अर्जेन्टिनाजस्ता स्थापित टोलीसँगै मोरक्को, नर्वे र स्विट्जरल्यान्डले पनि स्थान बनाएका छन्। विशेषगरी नर्वे र मोरक्कोको उपस्थितिले यस संस्करणलाई अझ रोचक बनाएको छ।

यस विश्वकपसँगै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ। रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। राउन्ड अफ ३२ मा स्पेनसँग १–० ले पराजित भएपछि रोनाल्डो नेतृत्वको पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो। यससँगै रोनाल्डोले आफ्नो व्यावसायिक करियरको अन्तिम विश्वकप खेल पनि स्पेनविरुद्ध खेलेका छन्। दुई दशकभन्दा बढी समय विश्व फुटबलमा प्रभुत्व जमाएका रोनाल्डो अन्तिम खेलपछि भावुक देखिएका थिए। विश्व फुटबलमा ऐतिहासिक छवि बनाएका उनले विश्वकप उपाधि जित्ने सपना भने पूरा गर्न सकेनन्।

रोनाल्डोसँगै क्रोएसियाका अनुभवी मिडफिल्डर लुका मोड्रिचले पनि विश्वकप फुटबलको अन्तिम खेल खेलेका छन्। संयोगवश राउन्ड अफ ३२ मा रोनाल्डो र मोड्रिचबीच अन्तिम पटक प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा क्रोएसिया २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।



ब्राजिलका स्टार खेलाडी नेयमारका लागि पनि यो विश्वकप अन्तर्राष्ट्रिय फुटबलको एउटा युगको अन्त्यका रूपमा हेरिएको छ। प्रतियोगिताभर आएका विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टमा यो उनको अन्तिम विश्वकप हुन सक्ने संकेत गरिएको छ। केही समययता राष्ट्रिय टोलीमा नियमित स्थान बनाउन नसकेका नेयमार यस विश्वकपका लागि भने टोलीमा समावेश भएका थिए। यद्यपि उनले प्रारम्भिक चरणका केही खेल गुमाएका थिए।

पाँच पटकको विश्व विजेता ब्राजिलको यात्रा पनि यसपटक अन्तिम १६ मै टुंगिएको छ। प्रतियोगिताको उपाधि दाबेदार मानिएको ब्राजिल नर्वेसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। यो नतिजालाई यस संस्करणको सबैभन्दा ठूलो उलटफेरमध्ये एकका रूपमा विश्लेषण गरिएको छ। भिनिसियस जुनियर र नेयमारजस्ता स्टार खेलाडी रहेको ब्राजिललाई हराउँदै नर्वेले ऐतिहासिक सफलता हासिल गरेको छ। लामो समयपछि विश्वकपमा पुनरागमन गरेको नर्वे अहिलेको प्रदर्शनका आधारमा उपाधिको बलियो दाबेदारका रूपमा हेरिन थालेको छ। नर्वेका कप्तान तथा स्टार फरवार्ड इर्लिङ हालान्डको प्रदर्शनको पनि व्यापक चर्चा भइरहेको छ।

अर्कोतर्फ जर्मनीको यात्रा पनि निराशाजनक रह्यो। परम्परागत फुटबल महाशक्ति जर्मनी राउन्ड अफ ३२ मै पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। पछिल्ला केही विश्वकपमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको जर्मनीमाथिको दबाब यसपटक पनि कायम रह्यो।

विश्वकपबाट प्रारम्भिक चरणमै बाहिरिएपछि जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समानले पदबाट राजीनामा दिएका छन्। जर्मन फुटबल संघका अनुसार वरिष्ठ पदाधिकारीसँगको छलफलपछि उनले जिम्मेवारी त्यागेका हुन्। सन् २०२८ सम्मको सम्झौतामा रहेका नागेल्समानले पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि पद छाडेका हुन्।


यता नेदरल्यान्ड्सलाई हराउँदै मोरक्कोले आफ्नो ऐतिहासिक यात्रालाई निरन्तरता दिएको छ। पेनाल्टी सुटआउटमार्फत नेदरल्यान्ड्सलाई पराजित गरेको मोरक्कोले यसअघि क्यानडालाई पनि हराएको थियो। सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरक्कोले यसपटक लगातार दोस्रो पटक क्वार्टरफाइनलमा स्थान बनाउँदै आफ्नो उत्कृष्ट प्रदर्शनलाई पुनः प्रमाणित गरेको छ।

यसबीच, क्वार्टरफाइनल प्रवेशका लागि भएको राउन्ड अफ १६ अन्तर्गत अर्जेन्टिना र इजिप्टबीचको खेल विवादित बनेको छ। इजिप्टले २–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले पुनरागमन गर्दै ३–२ को जित निकालेको हो। खेलका क्रममा फ्रान्सेली मूलका रेफ्रीको निर्णयलाई लिएर विवाद भएको छ। भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) मार्फत इजिप्टको एउटा गोल रद्द गरिनु, पेनाल्टीको माग अस्वीकार हुनु तथा अर्जेन्टिनाको निर्णायक गोल भएको समयलाई लिएर इजिप्टले गम्भीर असन्तुष्टि जनाएको छ।

इजिप्टका मुख्य प्रशिक्षकले खेलका क्रममा खेल अधिकारीहरूले अर्जेन्टिनालाई फाइदा पुग्ने गरी निर्णय गरेको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले प्रतियोगिताका बाँकी खेलसमेत नहेर्ने प्रतिक्रिया दिएका छन्। उनको अभिव्यक्तिपछि विश्व फुटबलमा रेफ्रीको निष्पक्षता र भीएआर प्रविधिको प्रयोगबारे पुनः बहस सुरु भएको छ। सामाजिक सञ्जालमा पनि यस विषयमा पक्ष र विपक्षमा व्यापक बहस भइरहेको छ। धेरै समर्थकले अर्जेन्टिना र लियोनेल मेस्सीप्रति पक्षपात भएको आरोप लगाउँदै फिफामाथि प्रश्न उठाएका छन्।

यस विश्वकपमा पहिलो पटक सहभागी भएको टापु राष्ट्र केप भर्डेको प्रदर्शनको पनि व्यापक प्रशंसा भइरहेको छ। समूह चरणमा अपराजित रहेको केप भर्डे राउन्ड अफ ३२ मा अर्जेन्टिनासँग ३–२ ले पराजित भए पनि टोलीले आफ्नो प्रदर्शनमार्फत धेरै समर्थकको मन जित्न सफल भएको छ। टोलीका ४० वर्षीय गोलरक्षक भोजिन्हाले सामाजिक सञ्जालमार्फत विश्वभरबाट अप्रत्याशित समर्थन प्राप्त गरिरहेका छन्।