जोमसोम सामान्य
- मुस्ताङ
वाणिज्यमन्त्री रोमी गौचन थकालीले निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसा बाँडेको आरोप लागेपछि तनावग्रस्त बनेको मुस्ताङको जोमसोम बजार अहिले सामान्य भएको छ । कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवार सर्मथित कार्यकताको प्रदर्शनका कारण बिहानैबाट तनावग्रस्त बनेको जोमसोम बजार सामान्य भएको हो ।
दिनभर रोकिएका सवारी साधनहरु अहिले आफ्नो गन्तव्य तर्फ लागेको सहकर्मी विनोद त्रिपाठीले जनाएका छन् । स्थानीय प्रशासन र राजनीतिक दलहरुबीच भएको वार्ताले भोली हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
निर्वाचनको एक दिन अघि भएको घटनाले स्थिति असहज हुन नदिन सदरमुकाममा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी खटाइएको थियो । एमालेका पूर्व सांसद चन्द्रबहादुर गुरुङले मन्त्री गौचनले भोट किन्न पैसा बाँढ्दै गरेको अवस्थामा समातेर प्रहरीलाई बुझाइएको दावी गर्नु भएको छ ।