चुरे क्षेत्रमा करिब १६ हजार बिरुवा रोपियो
- जनकपुर
पटक पटक भएको वन फडानीका कारण उजाड बनेको चुरे क्षेत्रलाई पुनः हरियो बनाउन नेपाली सेनाको सप्ताहव्यापी अभियान अन्तर्गत विभिन्न जातका १५ हजार बढी विरुवा रोपिएका छन् । चुरेको भिरालो जग्गामा विभिन्न जातका विरुवाको १० किलो विजारोपण समेत गरिएको छ ।
धनुषाको महेन्द्रनगर स्थित गोरखनाथ गणका गणपति खेमराज जोशीका अनुसार चुरे क्षेत्रका १० हेक्टर जग्गामा टिक, मसला, जामुन, गोल्डमोहर, सतिसाल, शिरिष, खयरलगायतका १५ हजार ८ सय विरुवा वृक्षारोपण गरिएको छ भने भिरालो जग्गामा ५ किलो खयर र ५ किलो बबूलको विजारोपण गरिएको हो ।
जिल्ला वन कार्यालयाको सहयोगमा महेन्द्रनगरस्थित गोरखनाथ गणले सञ्चालन गरेको ‘गो ग्रीन’ अभियानअन्तर्गत गणेशमान–चारनाथ नगरपालिका–१ को तीनतल्लेस्थित चुरे क्षेत्रमा गत बुधवारदेखि सञ्चालित यो अभियान आज सकिएको छ ।
अभियानमा स्थानीय नागरिक, शिक्षक, विद्यार्थी, कर्मचारी, सेना, प्रहरी, सञ्चारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम अन्तर्गत दुई वर्ष अघि चुरेको उपल्लो क्षेत्रमा वृक्षारोपण गरिएको थियो ।