कार्यकारी अधिकृतमाथि भएको हातपातको बिरोधमा जनकपुर उपमहानगरपालिका ठप्प
- जनकपुर
कार्यकारी अधिकृतमाथि हातपात गरेको विरोधमा कारवाहीको माग गर्दै कर्मचारीले जनकपुर उपमहानगरपालिका ठप्प पारेका छन् । अधिकृत अर्जुनप्रसाद सुवेदीलाई स्थानीयले हातपात गरेको विरोधमा उपमहानगरपालिकाका कर्मचारी युनियनले आजबाट कामकाज ठप्प पारेका हुन् ।
गत साउन १७ गते जनकपुरमा संचालित एकीकृत सहरी विकास आयोजनको स्थलगत निरिक्षणका लागि शहरी विकास मन्त्री प्रभु साहसहितको टोलीमा सहभागि कार्यकारी अधिकृत सुवेदीलाई स्थानीयले विद्यापति चोकमा कुटपिट गरेको कर्मचारीले आरोप लगाएका छन् ।
कार्यालय प्रमुख सुवेदीमाथि हातपात गरेको घटनामा स्थानीय प्रशासनले दोषीलाई कारवाही नगरी आलटाल गरेको भन्दै उपमहानगरका सबै कामकाज ठप्प पारेको कर्मचारी युनियनका अध्यक्ष कृष्णकुमार झाले बताउनुभयो । खानेपानीको पाइप चुहावट भएर बनेको खाल्डोले दुर्घटना बढेको भन्दै स्थानीयले गुनासो गरेपछि मन्त्री साहसहितको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।
निरिक्षण पछि सहरी विकास मन्त्री प्रभु साहले विद्युत, टेलिकम, खानेपानी तथा उपमहानगरपालिकाका कर्मचारीलाई निर्देशन दिईदा कार्यकारी प्रमुख सुवेदी आफ्नो गाडीमा फेसबुक चलाएर बसेका सुवेदीलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दा अटेर गरेपछि स्थानीय युवाले कुटपिट गरेका थिए ।