रातु खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
- महोत्तरी / धनुषा
महोत्तरी र धनुषाको सीमामा पर्ने रातु खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा गएरातीबाटै राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा महोत्तरीको बर्दिवास र धनुषाको ढल्केबर सहित पूर्व–पश्चिम राजमार्गको विभिन्न स्थानमा सवारीसाधन रोकिएका छन् ।
साउन अन्तिम हप्ता आएको बाढीले रातु खोलाको पुलको केही भाग भाँसिएपछि डाइभर्सन गरी ठूला सवारी सञ्चालनका रोक समेत लगाइएको थियो । पुल भाँसिएको स्थानमा बेलीब्रिज जडानको काम भइरहेपनि सम्पन्न हुन अझै केही समय लाग्ने भएकाले समस्या परेको सडक डिभिजन कार्यलय धनुषालाई उद्धृत गर्दै हाम्रा सहकर्मी श्यामसुन्दर शशिले जनाएका छन् ।
सवारी सञ्चालन अवरुद्ध भएपनि सयौं यात्रु अलपत्र परेका छन् भने एम्बुलेन्ससम्म सञ्चालन गर्न कठिनाई भएकाले बिरामीलाई अस्पतालमा पुर्याउन समेत समस्या परेको छ ।