गोरखामा कांग्रेस र माओवादीका कार्यकर्ताबीच खुकुरी हानाहान
- गोरखा- गोरखाको भिमसेन गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका छन् । भिमसेन गाउँपालिकाको नाम परिवर्तन गर्ने विषयमा दुई समूहबीच झडप भएको हो । गाउँ सभाको बैठकपछि दुई पक्षबीच विवाद हुँदा भिमसेन– ५ बगुवामा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाईतेको उपचारका लागि सदरमुकाम लगिएको छ । गाउँ सभाले भिमसेन गाउँपालिकाको नाम भिमसेन थापा गाउँपालिका राख्ने निर्णय गरेको छ । बगुवा रहेको केन्द्र वडा नम्बर १ को घ्याम्पेशाल सार्ने विषयमा दुई पक्षबीच विवाद भएको हो ।
कांग्रेसका कार्यकर्ताले केन्द्र घ्याम्पेशाल सार्ने र माओवादी केन्द्रका कार्यकर्ताले बगुवामा नै राख्नु पर्ने बताए पछि उनीहरुबीच झडप भएको प्रहरीले जनाएको छ । झडप पछि सदरमुकामबाट घटना स्थलमा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरिक्षक भेषराज रिजालले बताउनुभयो । आक्रमणकारीको खोजी भईरहेको प्रहरी नायब उपरिक्षक रिजालले बताउनुभयो ।