राष्ट्रिय

सिन्धुपाल्चोकका भूकम्प पीडितलाई चुनावी माहोलले छोएन

- प्रतीक्षा खनालप्रतीक्षा खनालकाठमाडौं

-  सिन्धुपाल्चोकको चौतारा बजार आसपासका प्रत्येक घर तथा पसलहरुमा आस्थागत रुपमा दल तथा उम्मेदवारको चुनाव चिन्ह सहितको झण्डाले गर्दा बजार नै रङ्गिगएको छ । क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका शेरबहादुर तामाङ तथा नेपाली कांग्रेसको समर्थनमा राष्टिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर राणा चुनावी प्रतिस्पर्धामा छन् ।

आगामी निर्वाचनमा यी दुई नेताबीच कडा टक्कर हुने आंकलन समेत गरिएको  छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले सबै भन्दा बढी क्षति भएको सिन्धुपाल्चोकको चौतारा ५ गैरीगाउँमा भने चुनावी माहोलले त्यति छोएको छैन ।

गैरीगाउँका बासिन्दालाई चुनावको चासो भन्दा पनि भूकम्पले भत्काएको घर कसरी बनाउने भन्ने चिन्ताले सताउने गरेको छ । नेताहरु विकासे नारा लिएर चुनावमा होमिरहदा यहाँका भूकम्प पीडितलाई चुनाव कम, भूकम्पले भत्काएको घरको छानो टाल्ने चिन्ता बढी छ । विकास भन्दा पनि आवास पुनर्निर्माणमा दलहरुले सहयोग पुर्‍याउन भन्ने उनीहरुको चाहाना छ । 

स्थानीय बर्नमती तामाङ दलहरुको चुनावी नारा तथा माहोलबाट टाढा छिन् । उनको एउटै धोको छ, भत्केको घर बनाउने । आँगनमा घाम तापेर बसीरहेकी तामाङले भत्केको घर देखाउँदै भनिन्, “सबै जना त्यस्तै हो, अहिले सम्म पनि छानोमै छौं, यो घर बनाई दिने नेता आए हुन्थ्यो ।” 

बर्नमतीझैं सोही गाउँका अधिकांश सर्वसाधारणको मुख्य समस्या भनेकै भुकम्पले भत्काएको घर पुनर्निर्माण गर्न नसक्नु हो । सरकारले दिएको रकम घर बनाउन अपुग हुने तथा आफुसँग समेत सञ्चिती रकम नभएका कारण कतिपयले घर पुनर्निर्माण थालनी गर्न समेत सकेका छैनन् । दैनिक मजदुरी गरी परिवार पाल्दै आएका स्थानीय मोतीलाल तामाङलाई पनि चुनावको भन्दा भूकम्पले भत्काएको घर कसरी बनाउने भन्ने चिन्ता नै बढी छ ।

लामो श्वास फेर्दै उनी भन्छन, “घर बनाउनुपर्ने तर अहिलेसम्म बनाउन सकेको छैन, सरकारले दिएको ५० हजारले पुगेन, थप्न हामीसंग छैन, खै कसरी बनाउने घर ?” उनी फेरी थप्छन, “जुनै पार्टी, जुनै नेताले जितेपनि हामीलाई नहेर्ने रैछ, के गर्नु र खै ?” उनीसंगै छेवैमा बसेर कुरा सुनीरहेकी मोतीलालका श्रीमती होममाया तामाङले पनि आफ्नो चिन्ता यसरी व्यक्त गरिन्, “घर भत्केर छानोमा बसेका छम्, मकै राख्ने ठाउ पनि छैन, राखेको ठाउमा पनि मुसाले खाईदिन्छ ।”

तामाङ समुदायको बाहुल्य रहेको गैरीगाउँका सर्वसाधारणलाई आवास पुनर्निर्माण संगै आफ्नो वरिपरि महशुस गर्ने किसिमको विकास निर्माणको पनि खाँचो छ । विगतमा पटक पटक भोट हालेर धेरै प्रतिनिधि छानिसकेका स्थानीयलाई दल तथा तिनका नेताहरु प्रति एक किसिमको बितृष्णा समेत देखिन्छ ।

यद्यपि अब छानिने प्रतिनिधिले भने विकास निर्माणलाई प्राथमिकतामा राखुन् भन्ने झिनो अपेक्षा पनि उनीहरुले राखेका छन् । जुनै नेता जितेर आएपनि गाउँको विकास हुनुपर्ने स्थानीय मिठु तामाङ बताउछन् । यसअघि भएको चुनावमा उनले यस्तै आशा बोकेर मत दिए । तर अहिले जितेर गएका नेताले गाउँ विकासको लागि केही नगरेको भन्दै उनी भन्छन, “हामी गरीबको लागि त केही छैन । जित्छन, जान्छन ।” 

आम मतदाताको वास्तविक समस्या पहिचान नगरी ठूला परिवर्तन तथा विकासे नारा लिएर उम्मेदवारहरु गाउमा पुगेको भन्ने गुनाशो समेत गैरीगाउबासीमा देखिएको छ । जुनै जोगी आएपनि कानै चिरेको भन्ने उनीहरुको भनाई छ । चुनावको समयमा मात्र घर आगनमा पुग्ने प्रवृतिका कारण दलहरु प्रति जनताको विश्वास समेत घट्दै गएको छ ।

दलहरुले पुन:मतदाताको विश्वास जित्न तथा आफ्नो ठाउँको मुहार परिवर्तन गर्न विकासे नारालाई कार्यान्वयनमा ल्याउनुका साथै स्थानीयको वास्तविक समस्या पहिचान गर्न आवश्यक देखिन्छ ।