राष्ट्रिय

सिन्धुपाल्चोकको इर्खु गाउँका स्थानीय विकासको आशमा भोट हाल्दै

- प्रतीक्षा खनालप्रतीक्षा खनालइर्खु, सिन्धुपाल्चोक

-  आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावसँग कयौं सर्वसाधारणको  अपेक्षा जोडिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका ८ स्थित इर्खु गाउँका स्थानीयको अपेक्षा पनि केही यस्तै छ । अब चुनीने प्रतिनिधिबाट गाउँ विकासको ठुलै अपेक्षा लिएका छन्, उनीहरुले । 

स्थानीय सिद्धि बहादुर थापा गाउँको विकास गर्ने नेतालाई मात्र आफ्नो मत दिने बताउँछन् । “अब गाउँको विकास गर्ने नेतालाई जिताउन सके गाउँको अझ विकास होला भन्ने आशा राख्या छ”, थापा भन्छन्, “जसले राम्रो गर्न सक्नुहुन्छ, उहाँलाई नै जिताउने हो किनभने हामीलाई त विकास चाहिएको छ ।” पार्टीलाई नभई विकास गर्ने नेतालाई नै भोट दिने उनको भनाई छ । 

हुन त समयसँगै इर्खु गाउँका बासिन्दाले सुस्त गतिमा भएपनि विकासको महशुस गर्न थालेका छन । तर जीवनमा ठूलै परिवर्तन ल्याउने किसिमको विकासका काम भने नभएको स्थानीयको गुनाशो छ । स्थानीय ३० वर्षीया गोमा भारतीले विकासको योजना ल्याउने नेताको आवश्यकता औंल्याईन । आधारभूत आवश्यकता पूरा गरी युवा वर्गलाई उचित रोजगारीको अवसर श्रृजना गरे जीवनयापन केही सहज हुने उनको भनाई छ । आफु जस्तो युवाका लागि अब चुनीने प्रतिनिधिले विशेष योजना ल्याउनुपर्ने बताउंदै उनी भन्छिन्, “हामी प्लस टु गरेर बसेका छम, तर हामी जस्तो युवाका लागि रोजगार छैन ।” 

इर्खु गाउँमा सकारात्मक परिवर्तन नभएको भने होईन । कुनै समय खानेपानीको हाहाकार रहेको इर्खुमा विस्तारै पानीको सुविधा पुग्दैछ । विद्युत सेवाका साथै कच्ची सडकै भएपनि सुविधा पुगेको छ । योसंगै सञ्चार सुविधा तथा अन्य गाउँ शहरसंग इर्खु जोडिएपछि स्थानीयका चेतनाको स्तर समेत वृद्धि भएको स्थानीय मन्दिरा कार्की बताउंछिन् । यद्यपि विकास निर्माणले तीव्रता पाउन नसकेको उनको भनाई छ । 
“पहिलेको भन्दा त केही विकास भएको छ”, उनले भनिन् “तर पनि यहाँ अझै धेरै समस्या छ, पानीकै समस्या छ ।” सोही गाउँका ५८ वर्षीय इन्द्रवत भारती भने दलप्रति अलि रुष्ट छन् । गाउँका हरेक विकास निर्माणका काममा अग्रसर रहँदै आएका भारती, सरकारी पक्षले गाउँको विकासमा कुनै पहलकदमी नलिएको बताउँछन् । हालसम्म गाउँमा देखिएको सुधारका काम समेत स्थानीयकै पहलमा सफल भएको भन्दै उनी नेताहरुको फुस्रो आश्वासनले मात्रै समृद्धि नहुने बताउंछन् ।

भारती भन्छन, “पहिलेको हिसाबमा गाउँमा केही परिवर्तन त भएको छ तर त्यो पनि हामी जस्तै स्थानीयको पहलमा ।” स्थानीय तहको चुनावमा भोट हालेपनि यो पटक भने उनी दलहरुप्रति अलि रुष्ट नै देखिए । “यहाँबाट भोट नपाउने बेलासम्म हामी यसो गर्छौं, उसो गर्छौं भन्दै जान्छन तर जितेर गएपछि देख्न, भेट्न पनि पाउंदैनम् ।” 

आर्थिक रुपमा पिछडिएको समुदायको बसोबास रहेको इर्खु गाउँका बासिन्दाले गाउँ विकासको आशामा नै भोट हाल्ने तयारी गरेका छन् । त्यसैले दलहरुको विभिन्न विकासे नारा जनताको मत तान्ने माध्यम मात्र नबनाई व्यवहारमा पनि कार्यान्वयन गर्नु आवश्यक छ ।