कुलोमा पानी आउने आशामा भोट हाल्दै रामेछाप माझी गाउँका स्थानीय
- रामेछाप- आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावले रामेछापको मन्थली बजारका अधिकांश पसल विभिन्न पार्टीगत झण्डाले सजिएका छन् । मोटरसाइकल, बस लगायतका सवारी साधन पनि पार्टीगत झण्डा फहराउँदै गुड्ने गरेका छन् भने विभिन्न भित्ताहरु पनि पोस्टरले रंगिएका छन् । तर मन्थली बजारसँगै जोडिएको माझी गाउँ भने आफ्नै दिनचर्यामा व्यस्त छ ।
जितेर जाने नेताले उनीहरुको समस्या समाधान गरिदिन्छन् की भन्ने आशामा उनीहरु छन् ।
माझी गाउँका स्थानीय सुकमाया माझी भन्छिन्, “तरकारी खेती लाउनलाई पानीको समस्या छ, कुलोको समस्या छ ।” स्थानीय तहको चुनावमा भोट हालीसकेकी उनले आफ्नो समस्या समाधान गरिदिने आशका बीच भोट हालेको सुनाउँछिन् । “त्यतिकै त कसले भोट हाल्छ र ? हाम्रो समस्या हल गरिदिन्छन् की भन्ने आशमा पो भोट हालेकी हुँ, अब पनि त्यही त हो ।” उनले भनिन् ।
समुद्री सतहबाट ३ सय ६९ मिटर देखि ६ हजार ९ सय ६९ मिटर सम्मको उचाई समेट्ने रामेछाप भौगोलिकसँगै सांस्कृतिक विविधताले पनि भरिएको छ ।
प्राय सबै किसिमका जातजातीको बसोबास रहेको जिल्लाको सानो भू–भाग माझी समुदायले ओगटेको छ । विगतमा विशेष गरी घाट तार्ने, डुंगा तार्ने, माछा मार्ने तथा ढाक्रे लगायतको काम गर्ने माझीको पेशा यातायातको पहुँच पुगेपछि क्रमश: परिवर्तन हुँदै आएको छ । १ सय २० परिवार आदीबासी माझी रहेको माझीगाउँ मन्थली बजारसँगै जोडिएपनि उपेक्षित रहेको स्थानीयको गुनासो छ ।
६९ वर्षीया गुठारो माझी आफु जस्तो वृद्धवृद्धालाई जसले राम्रो गर्न सक्छ, उसैलाई भोट दिने बताउँछिन् । कुलोको समस्याका कारण खेती गर्न नपाएको भन्दै उनी आफ्नो समस्या यसरी सुनाउँछिन्, “तीन वर्ष जति भो, खेती गर्या छैन, कुलो नभएर, मकै छर्यो पानी आउँदैन, अस्ती पनि पानी नआउँदा मकै वस्तुलाई दिनुपर्यो हामीलाई राम्रो गर्ने नेतालाई भोट दिने होनी ।”
तल तामाकोशीमा निलो पानी निरन्तर बग्छ तर संगै जोडिएको माझी गाउँमा कुलो नहुँदा लामो समय देखि सुख्खा छ । नदीको किनारैमा रहेको भएपनि माझीगाउँको मुख्य समस्या सिंचाईका लागि कुलोको व्यवस्था नहुनु नै हो ।
कुलो नहुँदा अन्नबाली लगाउन समस्या हुनुका साथै लगाएको बालीबाट समेत उत्पादन नहुने समस्या स्थानीयले वर्षेनी भोग्दै आएका छन् । विगतमा गाउँबासीका लागि उल्लेखनीय काम नगरे पनि आफ्नो दायित्व निर्वाह गर्नका लागि भोट हाल्ने तयारीमा छन्, स्थानीय ५९ वर्षीय दिलबहादुर तामाङ । घर भूकम्पले भत्काइ दिएपनि उनी बसाईसराई गरी माझी गाउँ आएका हुन् । “एक न एक जनालाई त हामीले छान्नैपर्छ” उनी भन्छन्, “पार्टी हेरेर होइन, व्यक्ति हरेर भोट दिने हो ।”
यसअघि स्थानीय तहको चुनावमा भोट हालीसकेका तामाङ दलहरुले फुस्रो आश्वासन मात्र दिने गरेको बताउँछन् । “यो रोड बनाउँछु भन्छ, नाला बनाउँछु, कुलोमा पानी आउँछ भन्छ, यही सदरमुकाममा बस्दा त खै नेताको अनुसार अहिलेसम्म देख्न पाको छैन ।”
प्रतिनिधि सभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको रामेछापमा प्रत्यक्षतर्फ १२ जना चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । केही नयाँ तथा केही पुरानै अनुहार चुनावी प्रतिस्पर्धामा छन् ।
विगतका निर्वाचनमा पिछडीएको समुदायको उत्थानमा विशेष भूमिका खेल्ने, विकास निर्माणका कार्यलाई गाउँ–गाउँ पुर्याउने वाचा गरेका दलहरुले यस पटक भने के गर्छन्, त्यो भने हेर्न बाँकी नै छ ।