राष्ट्रिय

आँखाको पर्दा (रेटिना) जाँचमा विपन्नलाई ठूलो राहत

- जितेन्द्र साहजितेन्द्र साहजितेन्द्र साहजितेन्द्र साहविराटनगर

-  विश्वकै उत्कृष्ट गुणस्तरको रेटिना (आँखाको पर्दा) जाँच यन्त्र ‘साइरस एचडी–ओसीटी’ बाट न्यून शुल्कमा सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालमा उपचार सुरु भएको छ । अचानक दृष्टिविहिन भएमा, आँखाको अगाडि कालो दाग जस्तो देखिएमा, चिनी र उच्च रक्त चापका बिरामीको दृष्टिमा गडबडी देखिएमा यो आधुनिक उपकरणले जाँच गरेर तत्काल उपचार खोजिन्छ ।

अप्टिकल कोहरेन्स टोमोग्राफी (ओसीटी) नामको यो सबै भन्दा आधुनिक यन्त्रबाट पाँच मिनेट भित्र आँखा भित्रको हरेक कुनाको जटिल समस्या पता लगाउन सकिने उक्त अस्पतालकी रेटिना विज्ञ डा.इच्छा जोशीले बताइन् । ‘यो प्रविधिमा एकै पटकमा आँखाको रेटिनाको समग्र भागको स्क्यान गरेर स्पष्ट तस्विर निकाल्न सकिन्छ,’ उनले भनिन्, ‘रेटिनाको छ तह मध्ये कुनमा पानी जमेर अवरोध उत्पन्न भएको छ भन्ने यो यन्त्रबाट मात्र थाहा हुन्छ, यो प्रविधिमा समस्याको सहजै विश्लेषण गर्न सकिन्छ ।’

अन्तर्राष्ट्रिय बजारमा १ करोड १० लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने उक्त उपकरण जर्मनीस्थित एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले उक्त अस्पताललाई नि:शुल्क उपलब्ध गराएको हो । कुनै दल, नेता, मन्त्री वा सरकारले नभइ अस्पताल व्यवस्थापनले स्वयंले पहल गरेर उपकरण मगाएको हो ।   
स्वदेश र विदेशका गरी यहाँ दैनिक आउने औषत १ हजार ५ सय बिरामीमा झन्डै ३५ जनामा आँखाको जटिल समस्या देखिने गरिएको उक्त अस्पतालका दृष्टि जाँच प्राविधिक सुशीलकुमार शाहले बताए । ‘यस्तो कठिन रोगको बेलैमा जाँच एवं उपचार नभएमा आँखाको नसा सुकेर जीवनभरका लागि नेत्रहिन हुन सक्छन्,’उनले भने ।

शाहको अनुसार धमिलो वा तिरमिर देख्ने बिरामीले कम्तीमा एक देखि तीन महिनाको अन्तरालमा यो जाँच गराएमा आँखाको ज्योति गुम्नबाट बच्न सक्छन् । ‘उच्च रक्तचाप र सुगर बढ्न गइ आँखामा समस्या भएर आएकालाई एक महिना/पन्ध्रह दिन भित्रमा पुन: जाँचको लागि बोलाउँछौं,’ शाहले भने । नियन्त्रण पछि पनि तीन देखि ६ महिनामा नियमित परीक्षण गराउनु पर्ने उनले बताए ।

‘पुरानो प्रविधिमा रेटिनाको मात्र जाँच हुन्थ्यो, अहिलेकोमा जलबिन्दु, कोर्निया (आँखाको नानी), आँखाले देखेको कुरालाई तस्बिर बदल्ने न्यूरोसेन्सरी तन्तुको समेत तस्विर खिच्न (फन्डस फोटो) मिल्छ,’ प्राविधिक शाहले भने,‘आँखाको नसाभित्रको अवरोध एवं स्राव (लिकेज) पता लगाउन एन्जिओग्राफी समेत यसैबाट गरिन्छ ।’

विश्वको गरिब समुदायका अपांगको जीवनस्तर उकास्ने अभियानमा लागेको जर्मनीस्थित एक गैर सरकारी संस्था सीबीएम इन्टरनेशनलले उक्त अस्पताललाई उक्त आधुनिक मेसिन उपलब्ध गराएको हो । निजी अस्पताल, नर्सिंग होम र क्लिनिकमा नीकै महंगो पर्ने यो सेवा नि:शुल्क, अर्ध शुल्क एवं सहुलियत शुल्कमा नेपाल नेत्र ज्योति सँघद्वारा सञ्चालित उक्त गैर नाफामुलक अस्पतालमा भित्रिएपछि सिमित आय भएका वर्ग एवं विपन्न समुदायलाई ठूलो राहत भएको छ ।

थ्रीडी कम्प्युटर ग्राफिक सहितको एचडी (हाई–डिफिनिसन) स्तरको यो यन्त्र प्रयोग गर्ने आफूहरु मुलुककै पहिलो स्वास्थ्य संस्था समेत भएको उक्त अस्पतालका प्रबन्धक कुमार पृथुले बताए । यो भन्दा कम गुणस्तरको यस्तै यन्त्रबाट निजी अस्पतालमा जाँच गराउँदा ३ हजार रुपैयाँ भन्दा बढी पर्छ । यहाँ भने यो सेवा मात्र १ हजार ६ सय रुपैयाँ शुल्कमा सहज उपलब्ध छ । पृथुका अनुसार गरिब एवं असहाय रोगीको हकमा अर्ध शुल्क, सहुलियत शुल्क वा नि:शुल्क यो सेवा उपलब्ध गराइरहेका छौं । ‘बढी जसो नि:शुल्क नै हुन्छ,’उनले भने । 

उक्त अस्पतालमा एचडी/थ्री डी सुविधा नभएको अर्को यस्तै उपकरण हिडेल वर्ग रेटिनल टोमोग्राफ (एचआरटी) पनि छ । दृष्टि जाँच प्राविधिक शाहका अनुसार एचआरटी यन्त्रबाट धेरै पटक रेटिनाको परीक्षण गर्नुपथ्र्यो, अहिले आएको नयाँ उपकरणमा भने आँखा झिमिक्क नगर्दै एकै पटकमा सम्पूर्ण जाँच भइहाल्छ ।

‘बिरामी र चिकित्सक दुवैको समयको बचत भएको छ,’ डा.जोशीले भनिन्,‘यही जाँचको लागि राजधानी, छिमेकी भारत र अन्य मुलुक धाउनु परेन ।’ डा.जोशीका अनुसार पुरानो भन्दा नयाँ यन्त्र चलाउन पनि सहज छ ।

यस अघिको एचआरटी यन्त्रमा मुख्यत: जलबिन्दुको मात्र परीक्षण हुन्थ्यो । समयमै उपचार नहुँदा नेत्रहीन बनाउन सक्ने जलबिन्दु रोगमा दृष्टि सम्बन्धी स्नायु ( अप्टिक नर्भ ) मा विभिन्न कारणले क्षति पुगि उत्पादन हुने आँसुको प्रवाह अवरुद्ध हुन पुग्छ  ।