घुस रकम सहित इन्जिनियर पक्राउ
- जाजरकोटजिल्ला प्राविधिक कार्यालय जाजरकोटका कार्यालय प्रमुख इन्जिनियर घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको टोलीले जिल्ला प्राविधिक कार्यालय जाजरकोटका कार्यालय प्रमुख इन्जिनियर अन्जय कुमार देवलाई ८० हजार घुस रकम सहित पक्राउ गरेको हो ।
इन्जिनियर देवलाई अख्तियारका प्रहरी नायव उपरीक्षक रविन्द्र खनाल नेतृत्वको टोलीले उनकै कार्यकक्षबाट एक उपभोक्ता समितिका कोषाध्यक्षसँग घुस लिने क्रममा पक्राउ गरेको हो । छेडागाड नगरपालिका ३ स्थित ४६ लाख लागतको साना सिंचाई योजनाको कार्य सम्पन प्रगति प्रतिवेदन बनाई दिने बाहानामा इन्जिनियर देवले उपभोक्ता समितिबाट ८० हजार घुस लिएका थिए ।
घुस सहित पक्राउ परेका देवलाई थप अनुसन्धानका लागि क्षेत्रीय कार्यालय सुर्खेत तर्फ ल्याइएको अख्तियारका सुचना अधिकारी मेघनाथ सापकोटाले बताउनुभयो । आन्तरिक तथा महालेखा परीक्षण गराउनका लागि भन्दै जिल्लाका विभिन्न कार्यालयले ब्यवसायी तथा उपभोक्ता समितिबाट २० प्रतिशत सम्म रकम असूल्ने गरेका छन् ।
साना सिंचाई योजनाले कुलोमा पानी नचलेका, पाइप अलपत्र पारेका, योजनाको मुहानमा पानी नभएका, कम गुणस्तरका निर्माण सामाग्री प्रयोग गरेका लगायत गुणस्तरहीन कार्य भएका दर्जनौं योजनालाई पनि कार्य सम्पन्न प्रतिवेदन बनाएर रकम असूल्ने गरेको स्थानीयको गुनासो छ ।