राष्ट्रिय

प्रस्तावित प्रधानन्यायाधीशबारे निर्णय गर्न सुनुवाई समितिको बैठक बस्दै

काठमाडौं


- प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक आज पनि वस्दैछ । सिंहदरवारमा अपरान्ह साढे ३ बजे बैठक बस्दैछ । संसदीय सुनुवाईका क्रममा चारित्रिक प्रमाणपत्र र न्यायालयमा रहँदा गरेको निर्णय विवादास्पद बनेपछि जोशीको पक्षमा निर्णय आउने सम्भावना कम छ ।

सुनुवाई समितिमा दुई तिहाई बहुमत रहेको सत्तारुढ नेकपाले जोशीलाई अस्वीकार गर्ने अडान लिएको छ ।

सुनुवाई समितिमा रहेका नेकपाका एक सांसदले भने, ‘जोशीको सुनुवाईका क्रममा उठेका बिषय र उहाँले पेश गरेका प्रमाणपत्र हेर्दा उहाँलाई स्वीकार्ने सम्भावना निकै कम छ । छानविन उपसमिति बनाउनु पर्ने अबस्था आयो भने थप समस्या निम्तन सक्छ ।’ 

भावी प्रधानन्यायाधीशमा प्रस्तावित जोशीबारे विवाद बढ्दै गएपछि नेकपाले जोशीको स्वेच्छिक राजिनामाको अपेक्षा गरेको छ ।

श्रोतले भन्यो, ‘यतिधेरै विवादित बन्नुभन्दा स्वेच्छिक राजिनामा दिएर बसे हुन्छ ।’ सुनुवाई समितिमा जोशीले पेश गरेको प्रमाणपत्रको विवरण परीक्षा नियन्त्रण कार्यालय र उनी पढेको भनिएको विजय मेमोरियल स्कूलसँग मिलेको छैन ।

विजय मेमोरियल स्कुलमा तत्कालिन समयमा जोशीले उल्लेख गरेको सिम्बोल नम्बर अर्कै बिद्यार्थीको नाममा छ ।

संसदीय सुनुवाई समितिमा रहेकी कंग्रेस सांसद पुष्पा भुसालले जोशीको बिषयमा आज थप छफल गरेर मात्रै उपयुक्त निर्णय आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जोशीको बिषयमा थप छानविन गर्न उपसमिति बनाउनुपर्ने अवस्था आउन सक्छ ।’