सदरमुकाम जोड्ने पक्की सडक भत्कियो
- बझाङबझाङको सदरमुकाम चैनपुरलाई जोड्ने एक मात्र जयपृथ्वी राजमार्गको सिमखेतमा रहेको पक्की सडक भत्किएको छ । केही दिन देखि लगातार परेको वर्षाका कारण सिमखेतको चौण भन्ने ठाउँमा ३५ मिटर पक्की सडक भत्किएपछि सदरमुकाम आवागमन ठप्प छ । सडक भत्किए पछि सिमखेत बसपार्क बाट सदरमुकाम चैनपुर लगायत जिल्लाको उत्तरी भेगमा चल्ने सबै साना तथा ठूला सवारीका साधनहरु सिमखेतमा नै रोकिएका छन् ।
भत्किएको सडकको माथिको भागमा सानो मोटरसाईकल र मान्छे मात्रै आवत जावत गर्ने ठाउँ बाँकी रहेको छ । यद्यपि, वर्षा नरोकिएका कारण बाँकी सडक पनि भत्किने क्रममा रहेको छ । माथि पट्टी भिर र तल पट्टी बाउली खोला भएका कारण आवतजावत नै बन्द हुने खतरामा रहेको स्थानीय ब्यापारी ओमजंग बहादुर बोहराले बताए ।
बाउलीखोला भन्दा एक सय मिटर माथि सडक भएको र पहिरो पनी सडक देखि खोला सम्म गएको हुँदा मुनी पट्टीबाट खोलाले कटान गरी रहेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम सिहं कुँवरले वर्षा रोकिने बितिकै सडक खुलाउने काम हुने बताउनुभयो । आफूहरु यसको लागि विभिन्न निकायहरुसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो ।