राष्ट्रिय

पशुपति मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था

काठमाडौं

- हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भर्‍याङ हुँदै कैलाश दक्षिणस्थित जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । यस्तै तेस्रो मार्ग वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौसठ्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने कोषका सदस्यसचिव ढकालले बताउनुभयो ।

मन्दिरका चार ढोका बेलुकी ८ बजेसम्म खुला हुनेछन् । श्रीयन्त्रको पूजा र महाभोग लगाउने बेलामा भने दर्शन एवं पूजाका लागि मन्दिरको ढोका बन्द गरिने कोषले जनाएको छ । तीजका दर्शनार्थीको भीड बढी हुने भएकाले महागा गहना लगाएर नआउन र साना बालबालिका पनि नल्याउन कोषले भक्तजनलाई आह्वान गरेको छ । पशुपतिको नियमित दर्शन गर्नेका लागि बिहान छ बजे अगावै भुवनेश्वरी चोकस्थित सानो फलामे ढोकाबाट प्रवेश गर्ने व्यवस्था गरिएको थियो । तीजका अवसरमा आजैदेखि चार वटै सुरक्षा निकाय र कोषका सुरक्षाकर्मी समेतको एकीकृत सुरक्षा योजना बनाई कार्यान्वयन शुरु भएको छ ।