राष्ट्रिय

४ वर्षमा ६ हजार प्रहरीद्वारा राजीनामा

- प्रिन्स गौतमकाठमाडौं

केही आपराधिक घटनाको अनुसन्धानमा गरेको गल्तिका कारण आलोचित बनिरहेको नेपाल प्रहरीभित्र जागिर छाड्नेको संख्यामा बृद्धी भएको छ । पछिल्लो ४ बर्षको अबधिमा झन्डै ६ हजार जनाले जागिर छोडेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २०७१ सालदेखि २०७४ सम्म ५ हजार ९ सय २५ जना प्रहरी कर्मचारीले विभिन्न बाहानामा सेवा त्यागेका हुन् । २०७१ मा १ एसएसपी, ६ डीएसपी, २० इन्स्पेक्टरसहित १ हजार ७ सय २३ जनाले जागिर छाडे भने २०७२ मा ३ डीएसपी, १९ इन्स्पेक्टर, १ सय ३ जना सईसहित एक हजार २ सय ५२ जनाले राजीनामा दिए ।

२०७३ मा एकजना डीएसपी र एसएसपी, ५ जना इन्स्पेक्टर, ८४ जना सईसहित १ हजार १ सय ६० जनाले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्याङकले देखाउछ । 

गत आर्थिक बर्ष मात्रै ३ डीआईजी, २ एसपी, १ डीएसपी, ५ जना इन्स्पेक्टरसहित १ हजार ७ सय ८१ जनाले राजीनामा दिए । चालु आर्थिक वर्षमा पनि जागिर छाड्ने क्रम बढ्दो रहेको प्रहरीको तथ्याङ्क छ । पछिल्लो तीन महिनाको अवधिमा १ सय बढीले जागिरबाट राजिनामा दिएका छन् । 

यसरी जागिर छोड्नेको संख्यामा प्रहरी नायब निरीक्षक सई, सहायक निरीक्षक असई , हवल्दार र जवान तथा सहयोगी धेरै छन् ।

संगठनभित्र सिनियर प्रहरी अधिकृतबाट हुने व्यवहार ओभरटाइम ड्युटी, सेवा सुविधा, मुल्यांकन लगायतका कारण राजीनामाको संख्यामा बढोत्तरी भएको स्रोतले जनाएको छ । तर उनीहरुको राजीनामा पत्रमा भने सबैले व्यक्तिगत कारणले नै संगठनबाट राजीनामा दिनुपरेको उल्लेख गर्ने गरेका छन् । 

नसिहत, स्पष्टिकरण, ग्रेड रोक्का लगायतका कारणले पनि जागिरबाट राजीनामा दिने क्रम बढेको हो । हाल नेपाल प्रहरीमा ७५ हजारको दरबन्दी छ । राजीनामा दिएका अधिकांश जुनियर अधिकृत वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

जागिर छोडनेमध्येका केहीले पेन्सन पाइसकेको र केहीले विदेशमा राम्रो काम पाएका कारण जागिर छाडेका प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी शैलेश थापा क्षत्री बताउनुहुन्छ  ।

केहीले भने घरायसी कारण देखाउदै जागिर छोडेको उहाँको भनाई छ । प्रहरीमा सवैभन्दा धेरै ८१ प्रतिशत प्रहरी जवानको संख्या छ । संगठनमा १६ प्रतिशत जुनियर प्रहरी अधिकृतको संख्या छ । भने सिनियर प्रहरी अधिकृतको संख्या तीन प्रतिशतमात्रै छ ।

संगठनभित्र चरण राजनीतिक हस्तक्षेप र वृत्ति विकाश नहुनु जागिर छाड्ने मुख्य कारण भएको नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा बताउनुहुन्छ ।