अध्ययन बिना वृक्षरोपन गरेपछि जंगलनै स्वाहा
- रामेछापअध्ययन बिना वृक्षारोपण गरेपछि रामेछापको सानीमदौ सामुदायिक वन क्षेत्रमा लगाइएका सल्लोका रुख सुकेका छन् । सानीमदौ सामुदायिक वन क्षेत्रमा लगाइएका करीब ९० प्रतिशत सल्लोका रुख सुकेका हुन् । तत्कालीन जिल्ला वन कार्यालयले उक्त सल्लो रोपेको थियो ।
सल्लो सुकेपछि जंगल स्वाहा भएको छ । समुन्द्र सतह देखि १ हजार मिटर माथि मात्र हुने सल्लोको बिरुवा होचो र धेरै गर्मी हुने मन्थली आसपासको क्षेत्रमा लगाउँदा उक्त कार्यालयले कुनै अध्ययन गरेको थिएन ।
जलवायु र माटो सुहाउँदो बिरुवा लगाउनु पर्नेमा वृक्षारोपणको नाममा अध्ययनविना होचो भागमा सल्लो लगाइएको थियो । मन्थली आसापासको क्षेत्र १ हजार मिटर भन्दा होचो भागमा पर्छ । स्थानीय शिवप्रसाद सुवेदीका अनुसार सानीमदौ क्षेत्रमा यो वर्ष मात्र सयौं सल्लो ठाडै सुकेका छन् । ‘१० मा ९ सुकेका छन’ सुवेदीले भने, ‘अब हरियो गन्न सकिने मात्र बाँकी छन् ।’ उक्त क्षेत्रमा करीब १५ वर्ष अघि सल्लो रोपिएको थियो । सल्लोका रुखहरु झण्डै एक फिट गोलाई सम्मका भएका थिए ।
सल्लो रोपेपछि स्थानीय जातका रुखबिरुवा समेत नासिएका छन् । सल्लो जातको बिरुवाले वरिपरि अन्य प्रजातिका बिरुवा हुर्कन दिंदैन । स्थानीय सतिवयर, धंगेरा, बोटधंगेरा, खयर, करम लगायतका बिरुवाहरुको धेरै कमी भएको छ । ‘पहिलेका बिरुवा छैनन, सल्लो पनि मर्यो’ सुवेदीले भने, ‘वन उजाड जस्तै बनेको छ ।’
डिभिजनल वन अधिकृत शभ्भु तिवारीले ठूलो परिणाममा सल्लो मर्नुका पछाडि विस्तृत अध्ययननै गर्नुपर्ने बताउनुभयो । चिसो तापक्रममा हुने प्रजातिलाई तातो हावापानी र गर्मी हुने क्षेत्रमा लगाइएकाले सल्लो मरेको हुन सक्ने बलियो आधार रहेको उहाँले बताउनुभयो । ‘अध्ययन गरेर मात्र बिरुवा लगाउनु पथ्र्यो’ तिवारीले भन्नुभयो, ‘त्यति बेलाका साथीहरुले ख्याल पुर्याउनु भएनछ ।’
तिवारीका अनुसार मन्थली मात्र हैन, धेरै बेंशी क्षेत्रमा सल्लोको रुखहरु ठाडै सुकेका छन् । यसो हुनुमा जरामा लाग्ने रोग पनि हुन सक्ने उहाँको भनाई छ । बाबियाखर्क, भलुवाजोर क्षेत्रमा पनि सल्लो नासिने क्रममा रहेको उहाँले बताउनुभयो ।
तिवारीका अनुसार १ हजार मिटर भन्दा तलको भागमा सल्लो लगाउने नै हैन । ‘चिसो पाउन्जेल ति थेगिए, जब तातो बढ्यो अनि सुके’ तिवारीले भन्नुभयो, ‘यतिन्जेल सम्म जबरजस्ती बांचे ।’ तिवारीका अनुसार मन्थली आसपासको क्षेत्रमा उपयुक्त हुने बिरुवा खयर, सिसौं र साल हो ।
कम वर्षा हुने सुख्खा क्षेत्रमा पछिल्लो वर्ष क्यासियो फष्टाएको छ । क्यासियोलाई कम पानीमा गर्मी सहने बिरुवाको रुपमा लिइन्छ । जलवायु परिवर्तनका कारण पहाडको माथिल्लो क्षेत्रमा हुने बोट बिरुवाहरु होचो बेशीं क्षेत्रमा पनि पाइन थालेका थिए ।
चिलाउने, कुटमिरो जस्ता प्रजातिहरु बेशीमा हुनु अनौठो मानिन्छ । ति बिरुवाहरु पनि केहि वर्षको अन्तरालमा मर्न थालेका छन् ।