राष्ट्रिय

डडेलधुरामा बस दुर्घटना हुँदा १६ को मृत्यु, २६ बढी घाइते

- डीआर पन्तडीआर पन्तडीआर पन्तडडेलधुरा

डोटी – डडेलधुरा सीमामा पर्ने  डा. केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । २६ जना भन्दा बढी गम्भीर घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको उपक्षेत्रीय अस्पताल डडेलधुराले जानकारी दिएको छ ।

दुर्घटनामा परि १० जनाले घटना स्थलमा र ६ जनाको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेलधुरामा मृत्यु भएको हो । बाँकी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अवस्थामा रहेकालाई धनगढी रिफर गरिएको छ । अझै थप केही घाइतेलाई रिफर गर्ने तयारी भइरहेको उपक्षेत्रीय अस्पतालले जानकारी दिएको छ ।

‘घटना स्थलमा १० जनाको शव निकालि सकिएको छ’ डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले भन्नुभयो, ‘ज्यान गुमाउनेको संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ ।’

उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेलधुरा पुर्‍याइएका मध्ये ६ जनालको मृत्यु भएको पनि केसीले जानकारी दिनुभयो । बस खोलाको खोंचमा खसेका कारण मृत्यु हुनेको संख्या यकिन हुन सकेको छैन । दुर्घटनामा कति पुरुष र महिलाको मृत्यु भयो भन्ने समेत अझै यकिन हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक केसीका अनुसार सवै विवरण आउन अझै केही घण्टा पर्खनु पर्नेछ । रातिको समयमा बस खोलाको खोंचमा खसेका कारण उद्धारमा समेत कठिनाई भइरहेको उद्धारमा संलग्न सुरक्षाकर्मीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार उग्रतारा जात्रा हेरेर फर्कंदै गरेको से १ क २९३ नम्बरको स्कूल बस सडक देखि ३ सय मिटर तल खसेको हो ।

डोटीको शिखर नगरपालिका बांन्डुग्रीसैनमा रहेको पिसजोन एकेडमीको उक्त बस डडेलधुराको उग्रतारा मन्दिरमा बिहीबार जात्रामा सहभागी भएर फर्कंदै गरको अवस्थामा दुर्घटना भएको हो । विद्यालयको बस भएपनि जात्रामा सहभागी हुन आएका स्थानीय रहेका थिए । 

सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी सुरज केसीले घटनामा घाइते मध्ये ७ जनाको अवस्था अझैपनि गम्भीर रहेको बताउनुभयो । डीआइजी केसीले भन्नुभयो, ‘घटनाको विस्तृत विवरण अझै आइसकेको छैन ।’ 

दुर्घटना डडेलधुराको अमरगढी नगरपालिका रडुवा खोला पुग्नु अगावै भीरबाट खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेका सबै सुदूरपश्चिमको सबै भन्दा ठूलो धार्मिक जात्रा उग्रतारा मेलामा सहभागी भएर फर्किएका हुन् ।