हामी गुरुङ नै हौं : घले समुदाय
- लमजुङतत्कालीन राजकाजको समयमा फुट र शासन गरेको नीतिले विभाजित बनाएको भन्दै लमजुङका घले समुदायले आफूहरु तमू (गुरुङ) नै भएको बताएका छन् । गुरुङ समुदायमा घलेलाई ‘क्ले भनिन्छ । संस्कृति विद्हरुका अनुसार गुरुङ समुदायको राजकाज सम्मानित खानदान माथिल्लो दर्जाको क्ले नै अहिलेको घले हो । क्ल्हेको अर्थ धनी भन्ने बुझाउँछ । क्ल्हेबाट अप्रभंस भएर क्ले रहन गएको बुद्धिजीवीको तर्क छ ।
उनीहरुले गोरखाली घले समुदायद्वारा स्थापित लिलः फङ (घले समाज) संग कुनै दुश्मनी नरहेको तर, लिलः फङले भने जस्तै घले आफूहरु नभएको भनी आफ्नो प्रमुख चाड तमू ल्होसार भनेका छन् ।
लमजुङका क्ले (घले) समुदायले आइतबार बिहान ल्होसारको शुभकामना आदानप्रदान तथा चियापान गर्दै गोरखाली घलेले भने जस्तो घले आफूहरु नभएको धारणा सार्वजनिक गरेका हुन् । रिल्दी (रिल्दू), क्याल्दू, साम्री र डाँगीलाई घलेका थर भनिएको र लमजुङमा डाँगी घले नभएकाले उनीहरुसँग पारिवारिक सम्बन्ध समेत नभएको उनीहरुले बताएका छन् । डाँगी घलेको बसोबास गोरखामा छ ।
‘पछिल्लो समय घले जाति भनिएकाले डाँगीसँग कुटुम्बेरी साइन रहेको हुन सक्छ । तर, लमजुङका घले हामी गुरुङ नै हौं । हाम्रो भाषा, धर्म, संस्कार, संस्कृति र शास्त्र साक्षी छ’ जमीन्द्रमान घलेले भन्नुभयो । उहाँले लमजुङका घले गुरुङ हैनन् भनेर भ्रममा नपर्न आग्रह गर्नुभयो ।
उहाँले १५ पुस नै क्ले (घले) को ल्होसार भएको बताउनुभयो । ‘गुरुङ र क्ले (घले) एउटै जाती हो । कसरी फरक–फरक ल्होसार हुन सक्छ ?’ उहाँले भन्नुभयो, ‘संस्कृतिविद् जगमान गुरुङलाई सोध्दा हुन्छ, सबैकुरा प्रष्ट हुन्छ ।’ जगमानले गुरुङ समुदायमा सोंगीको कुरा गर्ने गरेको र सोंगीमा तीन घले पर्ने भन्दै यसमा डाँगी नपर्ने भनेको उहाँले सुनाउनुभयो ।
‘जगमानले क्होलामा नबसेको गुरुङलाई के गुरुङ भन्नुभएको छ । हामी क्होलाबाटै आएका हौं । गोरखाको डाँगी घले बरु मगराँतबाट आएको जगमान भन्नुहुन्छ’ घलले भन्नुभयो, ‘हामी सबै गुरुङ हौं । हिजो राजकाज चलाउने बेला ठूलोसानो भनिएको होला । अहिले कोही ठूलोसानो छैनौं ।’
क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले लमजुङका घले गुरुङ नै भएको बताउनुभयो । ‘अरु ठाउँको जिम्मा म लिन सक्दिन । मेरो गाउँ दशथरमा पर्छ । हिजो हामी दशथरमा बसेर सबै नीति नियम बनाउंथ्यौं । पुस १५ मा ल्होसार मनाउंथ्यौं । यही दिन हाम्रो वर्ग फेरिन्छ’ उहाँले भन्नुभयो ।
उहाँको गाउँ घलेगाउँ हो । गुरुङ भाषामा कोइम्ली भनिन्छ । उहाँले भन्नुभयो, ‘हामी गुरुङभित्रको क्ले हौं । पछि घले भनियो । हाम्रो अन्तिम राजा (क्याल्बोरोजा क्ले) को शालिक घलेगाउँमा बनाएका छौं । यो गुरुङ समुदायको अन्तिम राजा हो ।’ गुरुङलाई फुटाउन थरमा विभाजन गरी शासन गर्दा क्याल्बोरोजा क्ले मारिएको उहाँले बताउनुभयो ।
क्व्होलासोंथर गाउँपालिका ३, बगुमका ८३ वर्षीय पदमसिंह घलेका अनुसार लमजुङका घले छुट्टै जाती होइन । गुरुङभित्रकै एउटा थर हो । ‘हाम्रो नातागोता, इष्टमित्र, नाता कुटुम्ब, सोलीडोली सबै गुरुङसँग चल्छ । हामी कसरी गुरुङसँग छुटिएर छुट्टै घले हो भन्न सक्छौं ? सक्दैनौं’ उनले भने । परम्परागतदेखि पुस १५ गते गाउँमा ल्होसार मनाउने गरिएको उनले बताए ।
‘अहिले त घले छुट्टै भन्दो रहेछ । कसरी छुट्टै भयो ? मलाई बुझाउन आउनुहोला’ उनले भने । उनले कसैले घले छुट्टै जाति हो भनेर राजनीतिक अधिकार लिएको हुनसक्ने बताए । ‘जस्ले जे पाएपनि हामी घले छुट्टै जात होइन, हामी गुरुङभित्रकै एउटा थर हौं । हामी गुरुङ नै हौं’ उनले भने ।
तमु ल्होसारको दिन आइतबार जिल्लाका घले समुदायले जनप्रतिनिधि, राजनीतिक दलका नेता, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, समाजका गन्यमान्यलाई बोलाएर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको थियो ।
सरकारले सूचीकृत गरिसकेको ५९ आदिवासी जनजातिमा घले जाति समावेश छ । गतवर्ष माघ १ गते देशभरका घलेले लमजुङमा घले ल्होसर (ल्होसार) मनाएका थिए । यसैक्रममा लमजुङका घलेहरुले आफूहरु लिलः फङ (घले समाज) ले भनेजस्तै छुट्टै थरको घले नभएको भनी विज्ञप्ति निकालेर भत्र्सना गरेका थिए ।
लिःल फङ (घले समाज) का केन्द्रीय महासचिव डा. जीतबहादुर घलेले ‘गुरुङसंग मायाप्रेमको साइनोबाहेक केही सम्बन्ध’ नभएको भनी दिएको अभिब्यक्त त्यतिबेला लमजुङका घलेहरुले विरोध गरेका थिए ।