राष्ट्रिय

प्रधानसेनापति थापा अब भारतीय सेनाको मानार्थ सेनापति 

- सुरेशराज न्यौपानेकाठमाडौं

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति कोविन्दले प्रधानसेनापति थापालाई भारतीय स्थलसेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

नेपाल र भारतबीच सेना प्रमुखलाई मानार्थ सेनापति उपाधि दिने परम्परा अनुसार नै थापालाई उक्त सम्मान दिइएको हो ।

राष्ट्रपति कोविन्दले ट्वीटमा भन्नु भएको छ, ‘सेनापति थापालाई सैन्य कौशल र नेपालको भारतसँगको लामो र मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान दिएबापत मानार्थ सेनापतिबाट सम्मान गरिएको हो ।’ 

भदौको अन्तिम साता भारतले पुनेमा आयोजना गरेको बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले अन्तिम समयमा सहभागी नहुने निर्णय गरेपछि नेपाल र भारतको उच्च राजनीतिक तहदेखि सैन्य स्तरमा पनि अविश्वास सिर्जना भएको थियो ।

यो परिप्रेक्ष्यमा प्रधानसेनापति थापाको भारत भ्रमणलाई दुई मुलुकबीचको सैन्य सम्बन्ध सुधारका हिसाबले विशेष चासोका साथ हेरिएको छ ।  

प्रधानसेनापति थापा भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणमा पाँच दिने भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका हुन् । प्रधानसेनापति थापाको यो पहिलो विदेश भ्रमण हो ।

भारत भ्रमणका क्रममा थापाले भारतीय स्थल सेनाध्यक्ष जनल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायतका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । स्रोतका अनुसार प्रधानसेनापति थापा जयपुर र देहरादुन पनि जानेछन् ।