राष्ट्रिय

राजपाको तेस्रो स्थापना दिवस

काठमाडौं

मधेश केन्द्रित विभिन्न ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी राजपा नेपाल स्थापना भएको दुई वर्ष पूरा भएको छ । २०७४ बैशाख ७ गते मधेश केन्द्रित ६ वटा दल एकीकृत भएर राजपा गठन भएको थियो । पार्टी स्थापना दिवसको अवसर पारेर राजपाले केन्द्रमा काठमाडौंको चारखालस्थित एक पार्टी प्यालेसमा चियापान तथा शुभकामना आदालनप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

यस्तै, राजपाको संगठन भएका जिल्लामा पनि शुभकामना आदनप्रदानको कार्यक्रम तय भएको महासचिव मनिस कुमार सुमनले जानकारी दिनुभयो । २०७२ सालमा संविधान जारी हुने बेला संविधानको विरोधमा उत्रिएका मधेश केन्द्रित दलहरु पछि जनताको माग भन्दै २०७४ सालमा एकीकृत भएका हुन् ।

संविधानको विरोधमा उत्रिएपनि अहिले सोही संविधानको अधिनमा रहेर स्थानीय तहदेखि प्रदेश र संघमा पनि राजपाको प्रतिनिधित्व छ । प्रदेश २ मा राजपा र संघीय समाजवादी फोरमको सरकार छ । राजपाले पार्टी स्थापना भएको एक वर्षमा महाधिवेशन गर्ने विधानमा उल्लेख गरेको भएपनि पछि विधान संशोधन गरेको थियो ।

संशोधित विधान अनुसार आजबाट महाधिवेशन गर्ने तयारी गरेको राजपाले फेरि पनि महाधिवेशनको मिति एक महिना पछि सार्ने तयारी गरेको छ । महाधिवेशन नहुँदासम्म अहिले चक्रिय प्रणालीमा तत्कालीन ६ वटै पार्टीका अध्यक्षले राजपाको नेतृत्वको सम्हालिरहेका छन् ।

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम मिलेर राजपा नेपाल गठन भएको थियो ।