राष्ट्रिय

शिक्षा तथा स्वास्थ्य उपसमितिको म्याद फेरि थपियो

काठमाडौं

मेडिकल कलेजहरुको शुल्क विवाद लगायत विषयमा अध्ययन गर्न गठित संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको समायावधि दोस्रो पटक एक महिनाका लागि थप गरिएको छ । यस अघि गत बैशाख २६ गते समितिले जेठ २६ भित्र प्रतिवेदन बुझाउन एक महिनाका लागि समय थप गरेको थियो ।

उपसमिति संयोजक सुरेश कुमार राईले मेडिकल कलेजको अध्ययन कार्य जारी रहेको हुँदा थप एक महिनाको समय आवश्यक रहेको बताउनुभयो ।

चिकित्सा विज्ञानका स्नातक तह (एमबीबीएस र बीडीएस) सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन सम्बन्धमा उपसमितिले हालसम्म सरकारी तथा निजी क्षेत्रका विभिन्न २० मेडिकल कलेजको स्थलगत अध्ययन पूरा गरिसकेको छ ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्ययन गर्न बाँकी रहेको संयोजक राईले जानकारी दिनुभयो । गत चैत १२ गते उपसमिति गठन भएको थियो ।