राष्ट्रिय

विभागको जिम्मेवारी टुङ्ग्याउन नेकपालाई सकस

- बासु खड्काकाठमाडौं

पार्टी एकताको बाँकी काम अन्तिम चरणमा पुर्‍याएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपालाई कार्यविभाजन टुङ्ग्याउन सकस भएको छ । विभागको भागवण्डा मिलाएपनि विभागको नेतृत्व लिने आकांक्षी धेरै भएपछि नेतृत्वलाई सकस परेको हो ।

केही दिन अघि बसेको सचिवालय बैठकले ३३ वटा विभाग मध्ये १८ वटा तत्कालीन एमाले र १४ वटा तत्कालीन माओवादी केन्द्रको भागमा रहने गरी विभाजन गरिएको थियो ।

तत्कालीन एमालेको भागमा नीति अध्ययन प्रतिष्ठान सहित संगठन विभाग, विदेश विभाग, पर्यटन विभाग, संघीय संसदीय विभाग, प्रदेश विभाग, स्थानीय विभाग लगायत छन भने तत्कालीन माओवादी केन्द्रको भागमा प्रचार विभाग, अर्थ तथा कोष व्यवीथापन विभाग, विज्ञान प्रविधी विभाग, खानेपानी विभाग लगायत छन् ।

स्कूल विभागमा भने दुबै पक्षको दाबी भएकाले कसको भागमा राख्ने भन्ने अझै अन्योल छ । नेतृत्वले विभाग प्रमुमा रहने व्यक्तिको नाम सिफारिस गर्न नसक्दा सचिवालय बैठक नै प्रभावित भइ पटक/पटक स्थगित हुँदै आएको छ ।

गृहकार्य नपुगेको भन्दै अध्यक्षद्वयले स्थगित गरेको सचिवालय बैठकको अर्को मिति तय भइनसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्षद्वय अहिले आन्तरिक छलफलमै व्यस्त छन् । गत वर्षको जेठ ३ गते पार्टी एकता हुँदा बाँकी काम तीन महिनाभित्र सक्ने नेताहरुले बताएका थिए ।

१४ महिना वितसक्दा पनि पार्टी एकतको कामले पूर्णता पाउन सकेको छैन् । पार्टी एकतापछि सचिवालय, स्थायी समिति, प्रदेश समिति, जिल्ला संयोजक/सहसंयोजक, लगायतको काम सकिएको छ । पार्टी एकताको कामको महत्वपूर्ण पाटो मानिएका विभाग, को जिम्मेवारीले नेकपालाई अन्योल बनाएको हो । नेकपाको पार्टी एकता प्रक्रिया अन्तर्गत विभागसँगै अन्य केन्द्रीय निकाय प्रवास संगठन र पोलिटव्युरो गठन गर्न पनि बाँकी छ ।