राष्ट्रिय

सरकारका राम्रा काम जनतामाझ लान नसक्दा पार्टी आलोचित बन्यो : दाहाल

- अर्जुन राजवंशीबिर्तामोड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले राम्रा कामहरु गरेपनि जनतामाझ लान नसक्दा पार्टी र सरकार दुवै आलोचित बन्नु परेको बताउनु भएको छ । सरकारले समयावधिभित्रै संविधान अनुसारका कानूनहरु निर्माण गरेर मुलुकलाई संवैधानिक संकटबाट जोगाएको उहाँले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले नेकपाको काँधमा नेपालीको समृद्धिको यात्रा पूरा गर्ने ठूलो जिम्मेवारी रहेको बताउनुभयो । यो यात्रा पूरा गरेमात्र कम्युनिष्ट पार्टीलाई जनताले फेरि अर्को जिम्मेवारी दिने उहाँले बताउनुभयो । शनिबार झापाको बिर्तामोडमा गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको आठौं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी र सरकारले जनताको आवश्यकता र आकांक्षाअनुसार काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । 

‘स्वास्थ्य, शिक्षा, कृषि, स्वदेशमै रोजगारीलगायत जनताको आकांक्षाअनुसार पार्टी र सरकारले काम गर्न सक्नुपर्छ । पार्टी र सरकारले जनतालाई निराश बनाउने कुनै काम गर्नुहुदैँन’ दाहालले भने,‘ उहाँले भन्नुभयो, काम, व्यवहार, नीति र योजनामार्फत जनताको भावना पूरा गर्नुपर्छ । अनि मात्र नेकपाको पार्टी एकताको लक्ष्य पनि पुरा हुन्छ ।’ 

कम्युनिष्ट सरकारलाई दीगो रुपमा अघि बढाउन ठूलो चुनौती रहेको भन्दै ‘अधिनायकवाद’ को ट्याग भिराएर वर्तमान व्यवस्थाहरु उल्ट्याउने र सरकारविरुद्ध विभिन्न प्रचारवाजीहरु भइरहेको उहाँको भनाई छ । 
दाहालले पार्टी एकताको काम समयमै टुंग्याउन नसक्दा पार्टी र सरकारलाई ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले एकता प्रक्रिया ३ महिनामै टुंग्याएको भए सरकारले गरेका राम्रा कामहरु जनतामाझ पुर्‍याउन सक्दथ्यौं । एक बर्षसम्म पार्टीबिहीनताको अवस्था रहदैन थियो । विरोधीहरुले बोल्ने र खेल्ने ठाउँ पाउने थिएनन् ।’ 

दुई ठूला कम्युनिष्ट पार्टी एक भएकै कारण नेपाली इतिहासमा कम्युनिष्ट पार्टीले दुईतिहाईको सरकार बनाउन सफल भएको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘त्यसैले अब पार्टीभित्रको गुटबन्दीको अन्त्य गर्नुपर्छ । म यो अभियानमा लागेको छु । गुटबन्दी अन्त्य गरेर हामी विचारमा स्पष्टता र अनुशासित भयौं भने कम्युनिष्ट पार्टीले अझै ५० बर्षसम्म सरकार चलाउने जिम्मेवारी पाउन सक्छ ।’

उद्घाटन सत्रमा बोल्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शान्ति प्रक्रिया बढीमा अबको २ वर्षमा टुंगिने बताउनुभयो । उहाँले शान्ति प्रक्रियालाई सफलतासाथ टुंग्याउन सरकार आफ्ना जिम्मेवारीहरु पूरा गर्नेतर्फ तीव्र गतिमा अघि बढेको बताउनुभयो । यसका लागि सरकारले प्रमुख प्रतिपक्षी कांग्रेसलगायत पार्टीसंग आवश्यक सरसल्लाह गरिरहेको उहाँको भनाई छ । संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङ सरकार संविधान कार्यान्वयनमा पूर्णरुपमा प्रतिवद्ध भएर अघि बढेको बताउनुभयो ।