राष्ट्रिय

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रहरी भ्यान हस्तान्तरण

- रेडियो कान्तिपुररेडियो कान्तिपुररेडियो कान्तिपुरधनगढी

सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी भ्यान बुधबार प्रदेश प्रहरी प्रमुखको कार्यालयलाई हस्तान्तरण गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले दुई महिना अघि खरिद गरेका प्रहरी भ्यान बुधबार प्रदेश प्रहरी प्रमुखको कार्यालयलाई हस्तान्तरण गरेको हो ।

गत आर्थिक वर्षको असार मसान्तमा खरिद भएका ती गाडीहरु हस्तान्तरण गर्न कानून बाधा भएकोले मन्त्रालयमै थन्किएका थिए । 

आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले प्रदेश प्रहरी प्रमुख डीआइजी तारिणी प्रसाद लम्साललाई ९ वटै गाडीको साँचो हस्तान्तरण गरेका हुन् । मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजार रुपैयाँमा ती गाडी खरिद गरेको थियो ।

ती गाडीहरु प्रदेश प्रहरी गठन भएपछि मात्र जिल्लालाई हस्तान्तरण गर्ने भन्ने बजेट शीर्षकमा उल्लेख भएकाले मन्त्रालयमै थन्किएका थिए । ‘मंगलबार मन्त्रिपरिषदद्धारा ती गाडीहरु जिल्लालाई हस्तान्तरण गर्ने निर्णय भएपछि वितरण गर्ने बाटो खुलेको हो’ मन्त्रालयका सचिव कृष्ण राउतले भन्नुभयो, ‘प्रदेश प्रहरी गठन नभएपनि जिल्लाहरुलाई एउटा गाडी उपलब्ध गराउने योजनामा कुनै खोट थिएन ।’

जिल्लाहरुमा सवारी साधन अभावले समस्या भइरहेका बेला प्रदेश सरकारले गाडी उपलब्ध गराएपछि शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहज हुने डीआइजी लम्सालले बताउनुभयो ।