राष्ट्रिय

कात्तिक १० गतेभित्र उम्मेदवारको सिफारिस पठाउन निर्देशन 

काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ गतेका लागि तोकिएको  उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारको सिफारिस पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बिहान बसेको सचिवालय बैठकले उपनिर्वाचन हुने क्षेत्रबाट तीनजना उम्मेदवरको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको हो । सोही ३–३ जनाको नामबाट नेकपाले निर्वाचन हुने क्षेत्रमा एक जनालाई उम्मेद्वार बनाउनेछ । 

प्रतिनिधि र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रिय कमिटी वा जिल्ला र प्रदेश कमिटीले उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने निर्णय भएको सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै नगर र गाउँपालिका प्रमुखको उम्मेद्वारीका लागि सम्बन्धित स्थानीय तह वा जिल्ला कमिटीको तहमा प्रदेश कमिटीले उम्मेद्वार चयन गर्ने श्रेष्ठले वताउनुभयो । सचिवालय बैठकले वडा सदस्यका लागि भने स्थानीय तहको कमिटीले नै टुंगो लगाउने गरी निर्णय गरेको छ ।

मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरि ७ वटै प्रदेशमा उपनिर्वाचना हुँदैछ । प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नं. २, प्रदेश सभाका लागि बाग्लुङ २(ख), दाङ ३ (ख) र भक्तपुर १ (क) तथा अरु स्थानीय तहमा गरि ५२ ठाउँमा उपनिर्वचन हुनेछ । 

यस्तै नेकपा सचिवालय बैठकले पार्टी संगठन विभागमा ३ जना सदस्य थप गरेको छ । अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई संगठन विभागको सदस्य बनाईएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । ३ जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग ५ सदस्यीय भएको छ । यद्यपी विभागले पूर्णता भनेको अझै पाएको छैन ।