राष्ट्रिय

रुख काटेको आरोपमा उपभोक्ता समितिका सदस्य जेल चलान

मकवानपुर

अनियमित रुपमा रुखहरु कटान गरी वन पैदावार हानी नोक्सानी गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले सामुदायिक वन उपभोक्ता समितिका दुई सदस्यलाई जेल चलान गरेको छ ।

मकवानपुरको बकैया गाउँपालिका–८ मा रहेको देउताखोला सामुदायिक वनका दुईजना कार्यसमिति सदस्यलाई अदालतले मागेको धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको हो ।

उपभोक्ता समूहका सदस्य पातलीमाया भुलुन र सदस्य सितामाया घ्यावा जिल्ला अदालत मकवानपुरले आइतबार जनही ११ लाख १७ हजार रुपैयाँ नगद वा जेथा जमानत धरौटी मागेको थियो । तर, उनीहरुले धरौटी बुझाउन नसकेपछि दुबैलाई चितवनको भरतपुर कारागार चलान गरिएको डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत नरेश पूर्वेले जानकारी दिनुभयो । 

वन ऐन २०४९ को दफा ६४ को २ बमोजिम उनीहरुसँग धरौटी माग गरेको अदालतको आदेशमा उल्लेख छ । सामुदायिक वनमा अनाधिकृत रुपमा १४ हजार ८ सय ३६ क्यूफिट काठ कटान भएको आरोप सहित डिभिजन वन कार्यालय मकवानपुरले अदालतमा मुद्दा दायर गरेको थियो ।

अनियमित रुपमा रुख कटान गरेको ठहर सहित सोही वन समूहका अध्यक्ष पनि ३ महिना जेल बसेर धरौटी बुझाएपछि यसअघि नै रिहा भइसकेका छन् ।