राष्ट्रिय

काठमाडौंमै छैन पर्याप्त सार्वजनिक शौचालय 

काठमाडौं

- काठमाडौं उपत्यकासहित मुलुकभरका पर्यटकीय स्थानमा सार्वजनिक शौचालय निर्माण एवं  सुधारमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् ।  सरकारले भ्रमण वर्षलाई भव्य बनाउने भनेपनि मुख्य पर्यटकीय स्थानमा सार्वजनिक शौचालय जस्तो सामान्य पूर्वाधार पनि नहुनु दुखद भएकोउनीहरुको भनाई छ । सरकारले निकै तामझामका साथ गत असोज १३ गते नेपाललाई खुल्ला दिसा मुक्त देश घोषणा गरेपनि प्रभावकारी हुन सकेको छैन ।  

४० लाख जनसंख्या रहेको काठमाडौंमा मुश्किलले ४० देखि ४५ वटा सार्वजनिक शौचालय छन् । ती शौचालय पनि अपाङग मैत्री छैनन् ।  भएका सार्वजनिक शौचालयको अवस्था ज्यादै दयनीय छ । यस्तो अवस्थामा पर्यटकहरुका लागि सहज र सुलभ शौचालयको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको हो । काठमाडौं उपत्यका मात्रै नभई पर्यटकीय स्थानमा स्मार्ट शौचालयको व्यवस्था गर्नुपर्नेमा पर्यटन व्यवसायीले समेत जोड दिएका छन् ।

काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालयको अवधारणा अगाडि सारे पनि त्यसको कार्यन्वयनमा भने शून्य छ । यद्यपी निजी संस्थासँगको सहकार्यमा महानगरपालिकाले स्मार्ट शौचालय निर्माण गर्ने तयारी गरिरहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले दिनुभयो । 

शौचालय दिवस 
सरकारले सरसफाई र जनतामा चेतना स्तर बढेको बताइरहादा अझै ८ प्रतिशत बालबालिका झाडापखलाको प्रकोपबाट आक्रान्त छन् ।   सन् २०३० सम्म सबैको लागि दिगो खानेपानी र सरसफाईको व्यवस्थापन गरी दिगो विकास लक्ष्य हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्न सरकारी योजना पर्याप्त छैनन् । चेतनाको स्तर बढेको जतिसुकै दाबी गरेपनि आजका दिनसम्म पनि शौच पछि साबुनपानीले हात धुनुपर्छ भन्ने सामान्य ज्ञानबारे ग्रामिण मात्रै होइन कतिपय शहरी भेगकै जनतापनि सचेत छैनन् ।

नेपालमा मात्रै होइन अझैपनि संसारभरि लगभग साढे ४ करोड मानिस सुरक्षित शौचालयको पहुँच बाहिर छन् । विश्वका एक तिहाई विद्यालयहरुमा अझै पनि शौचालयको व्यवस्था नभएको त्यसबाट महिनावारीका समय छात्राहरु बढी प्रभावित हुने गरेको राष्ट्रसंघीय तथ्याङ्क छ । विश्वका १० जनामध्ये एकजनाले अझैपनि शौचलयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसैबीच आज कोही नछुटौँ’  भन्ने नारासहित विविध कार्यक्रम गरी नेपालमा पनि विश्व शौचालय दिवस मनाइँदैछ ।