एनसेललाई १७ अर्ब ९५ करोड रुपैयाँ कर छुट दिने सर्वोच्चको फैसला
काठमाडौं– निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई १७ अर्ब ९५ करोड रुपैयाँ कर छुट दिने गरी सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको करमा झण्डै १८ अर्ब रकम छुट हुने गरी सर्वोच्चको फैसला आएको थियो । न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले एनसेलले तिर्नुपर्ने लाभकर १७ अर्ब ९५ करोड ६७ लाख १३ हजार २ सय ५० रुपैयाँ घटाई दिएको हो ।
योसँगै एनसेलमाथि ठूला करदाता कार्यालयले गत वैशाख ३ गते निर्धारण भएको ६२ अर्ब ६३ करोड रुपैयाँ बदर भएको छ । सर्वोच्चको पूर्णपाठमा एनसेलले कर रकम हिसाब गरेरै अब २१ अर्ब १० करोड र यसको ब्याज तथा जरिवाना बुझाउनुपर्ने ठहर समेत गरेको छ । सर्वोच्चले कुनै कारोबारमा कर निर्धारण हुने गरी फैसला गरेको नै पहिलो घटना भएको कर कानुनका जानकारहरु बताउँछन् ।
सर्वोच्चको फैसला अनुसार अब एनसेलले गत माघ २३ गतेदेखि असार मसान्तसम्मको निर्धारित कर, ब्याज र जरिवानासहित कूल ३४ अर्ब ३ करोड तिर्नुपर्छ ।
ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १ सय २० (क) बमोजिम लगाएको ५० प्रतिशत शुल्क सर्वोच्चले खारेज गरिदिएको हो । ठूला करदाता कार्यालयले कुनै आधार र कारण नखुलाई र कुनै विवेचना नगरी लगाएको ५० प्रतिशत शुल्क कानून बमोजिम नदेखिएको सर्वोच्चले फैसलामा उल्लेख गरेको छ । सर्वोच्चले बाँकी पूँजीगत लाभकर भने एनसेलले तिर्नुपर्ने फैसला गरेको छ ।