राष्ट्रिय

पाल्पामा सामाजिक विकास डिभिजन कार्यालय स्थापना

- माधव अर्यालमाधव अर्यालपाल्पा

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पाल्पाको तानसेनमा सामाजिक विकास डिभिजन कार्यालय स्थापना गरेको छ । पाल्पा र गुल्मी दुई जिल्लामा सेवा प्रवाह गर्ने उद्देश्यका साथ तानसेनमा कार्यालय स्थापना गरेको हो ।

योजना तथा प्रशासन महाशाखाका उपसचिव केशव अर्यालले सामाजिक न्याय, सशक्तिकरण र समाजकल्याणका क्षेत्रमा मन्त्रालयबाट हुँदै आएका क्रियाकलाप सामाजिक विकास डिभिजन कार्यालयबाट हुने बताउनुभयो । सुविधाजनक तरिकाले सेवा प्राप्त गर्नाका लागि मन्त्रालय कै स्रोत साधनका आधारमा डिभिजन कार्यालय स्थापना भएको उहाँले बताउनुभयो । 

सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालयको आफ्नै संरचना छ । स्वास्थ्य बाहेकका शिक्षा, युवा तथा खेलकुद, महिला तथा बालबालिका, जेष्ठ नागरिक, भाषा, सरसफाई लगायत कार्यहरूको योजना, कार्यान्वयन र मूल्यांकन लगायतका कार्य डिभिजन कार्यालयबाट हुने उपसचिव अर्यालले बताउनुभयो । स्थानीय सरकारहरूसँग समन्वयमा कार्य गरिने भएकाले स्थानीय सरकार र कार्यालयबीच समन्वय, सहयोग र सहकार्य हुने उहाँले उल्लेख गर्नुभयो ।  

तानसेनस्थित शिक्षा तालिम केन्द्र भवनमा स्थापना भएको डिभिजन कार्यालयका प्रमुख लक्ष्मण ज्ञवालीले सम्बन्धित सबैसँग समन्वय गरेर कार्य गर्ने बताउनुभयो । मन्त्रालयका कार्यहरूको सम्प्रेषण स्थानीय तहसम्म गर्ने पुलको काम गर्नेगरी प्रदेश ५ अन्तर्गत दुई/दुई जिल्ला कार्यक्षेत्र तोकी नवलपरासी र रुपन्देहीका लागि रुपन्देही, पाल्पा र गुल्मीका लागि पाल्पा, अर्घाखाँची र कपिलवस्तुका लागि कपिलवस्तु, दाङ र रोल्पाका लागि दाङ, प्यूठान र रुकुमका लागि प्यूठान र बाँके र बर्दियाका लागि बाँकेमा डिभिजन कार्यालय स्थापना गरिएको छ ।